Lumbini Rise
बटौलीदेखि बुटवलसम्म



बुटवल  -


फिरंगीलाई थपाएको बटौलीको जीगतगढी
तिलोत्तमाका् भेलमा आफै थपिदो छ


स्व. जनकवि गोकुल प्रसाद जोशीले विस २०१४ सालतिर बुटवलबारे लेखेको कविताको अंश हो यो । अहिलेको आधुनिक बुटवललाई लोकगित, कविता र साहित्यमा बटौलीकै रुपमा व्याख्या गरेको पाईन्छ ।     
 

बटौलीको बजारमा सुका धार्नी मासु
तिम्रो छोरी मैलै लगे टीका लगाइदेउ सासु


यी लोकगीतका अंशहरुले पनि तिनाउ किनारमा अवस्थित बटौलीकै गुनगान गाएको पुष्टि हुन्छ । यति मात्रै होईन ‘बटौली मुन्तिर तिनाउ खोला तीनतिर’, ‘भोली यसैबेला पुल तरेर बटौली’, ‘पहाडको फेँदीमा फेरो मारी बसेको बटौली’ भनेर लोक गीतहरु बनेको बटौली एक यर्थाथ चर्चा नामक उद्योग बाणिज्य संघ बुटवलको स्मारिकामा लेखेका छन । यीनै दृष्टान्तले आधुनिक बुटवल बटौलीका रुपमा पश्चिम नेपालमा प्रख्यात रहेको बुझ्न सकिन्छ । 

अहिलेको मुख्य बजारक्षेत्रभन्दा पश्चिम पर्ने तिनाउ किनारमा पुरानो बटौली बजार थियो । त्यहाँ ससाना घरहरूको गुजमुज्ज बस्ती थियो । डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे । मंसिरदेखि फागुनसम्म यो बजार गुलजार हुन्थ्यो । पहाडी घिउसँग नुन मात्रै होइन, भारतको बनारस र कानपुरबाट ल्याइएका लत्ताकपडा, भाँडाकुँडा, मरमसला साटेर पहाड पुर्‍याइन्थ्यो ।


पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवल ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर हो । २०८ वर्षअघि वीर सेनानी कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई परास्त गर्दै गोरखपुर धपाउन सफल भएको ऐतिहासिक जितगढी किल्लाको काखमा बसेको सहर हो बुटवल । १८७२ वैशाख ७ मा बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापानेतृत्वको नेपाली फौजले अंग्रेजमाथि विजय हासिल गरेको थियो । यो सहरको सिरानमा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार छ  । एक करोड दश लाख वर्ष पुरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको सहर हो बुटवल । सेनवंशीय राजाले पाल्पामा राज्य गर्नुअघिदेखि नै निर्यात व्यापार जोडिएको सहर हो बुटवल ।


इतिहासविद्हरूका अनुसार २०१० सालसम्म पनि अहिलेको मुख्य बजार क्षेत्रभन्दा पश्चिम पर्ने तिनाउ किनारमा पुरानो बटौली बजार थियो । त्यहाँ ससाना घरहरूको गुजमुज्ज बस्ती थियो । डोकोमा घिउ बोकेर पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, बाग्लुङबाट मानिसहरू नुन साट्न बटौली झर्थे ।
मंसिरदेखि फागुनसम्म यो बजार गुलजार हुन्थ्यो । पहाडी घिउसँग नुन मात्रै होइन, भारतको बनारस र कानपुरबाट ल्याइएका लत्ताकपडा, भाँडाकुँडा, मरमसला साटेर पहाड पुर्‍याइन्थ्यो ।


पहाडको घिउलाई बटौलीमै खारेर टिनका ठुला बट्टामा भरिन्थ्यो र बनारस, कानपुरजस्ता भारतीय बजारमा पुर्‍याइन्थ्यो । पहाडको घिउ र जडीबुटीसँग ल्हासाको नुन र सुन अनि भारतको लत्ताकपडा र मरमसला साट्ने बटौलीसँग शताप्दीऔं अघिदेखि नै निर्यात व्यापार जोडिएको बटौली संरक्षण संवर्धन समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौल बताउँछन् । २०१७ सालमा बहुदलीय व्यवस्था विघटन भएपछि यसलाई ‘बुटवल–खस्यौली नगर पञ्चायत’ बनाइयो । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि यसको नाम ‘बुटवल नगरपालिका’ राखिएको थियो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ मंसिर १६ मा बुटवल नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति भएको हो ।


बुटवलको शिरमा रहेको नुवाकोट, काखमा रहेको जितगढी किल्ला, सिरानमा रहेको मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापुर धाम, नीलकण्ठबाबा धाम, मुक्तिनाथ धाम, गणेश मन्दिर, बौद्ध गुम्बा, पद्य चैत्य विहार, पुरानो बटौलीको जामे मस्जिदजस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले बुटवललाई सम्पदा सहरको परिचय दिलाएका छन् ।


रूपन्देहीको उत्तरी सिमानामा रहेको बुटवल उपमहानगरपालिकाको उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका छ । पूर्वमा देवदह, पश्चिममा सैनामैना र दक्षिणमा तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका छन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थल हो बुटवल । यो सहरको बिचबाट तिनाउ नदी बग्छ ।


यहाँ रहेका प्राचीन तथा ऐतिहासिक जितगढी किल्ला, सेन वंशीय राजाको ग्रीष्मकालीन दरबार, मन्दिर, विहारजस्ता सम्पदाले सयौं वर्षअघि पनि बुटवल गणराज्यको राजधानी र व्यापारिक केन्द्र थियो भन्ने कुराको पुष्टि गर्छ । राणा शासनकालको अन्तिम चरणदेखि बुटवलले बिस्तारै आधुनिक सहरको रूप लिन थालेको इतिहासविद्हरू बताउँछन् ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update