बुटवल- बुटवलको फुटपाथमा बनेका अतिक्रमित संरचना हटाउन शुरू गरिएको छ । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा बनेका अतिक्रमित संरचनामा बुधबार डोजर चलाएको हो।
पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा समस्या हुन थालेको थियो ।
सोही समस्यालाई ध्यानमा राख्दै उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि विशेष अभियान शुरू गर्दै डोजर चलाएको नगर उपप्रमुख सावित्रा अर्यालले जानकारी दिइन् ।
उनका अनुसार उपमहानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान शुरू गरेसँगै अब बुटवलमा फुटपाथ व्यापार मुक्त शहर बनाउने अभियान अघि बढेको छ ।
विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायबीच सहमति जुट्दै अव्यवस्थित व्यापार निषेध गर्ने निर्णय गरिएको थियो ।
पहिले सर्वसाधारणलाई फुटपाथ व्यापार हटाउन जानकारी दिइएको थियो । माइकिङ गरी सूचना जारी गरिसकेपछि पनि नमानेपछि आवश्यक कारबाहीका लागि डोजर चलाउनुपरेको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइनेछ । दोस्रो चरणमा सडकमा छाडा छोडिएका चौपाया व्यवस्थापन गर्ने योजना उपमहानगरको छ । छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन लागिएको हो । स्थानीयले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् ।
यसले बजार क्षेत्र व्यवस्थित, सुरक्षित र आकर्षक शहर बनाउन सहयोग पुग्ने नगर प्रमुख खेलराज पाण्डेयले बताए।


