रुपन्देही। जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला भूमि समस्या समाधान समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए। उनका अनुसार जिल्लामा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत छन्।
गाउँपालिका अध्यक्ष पौड्यालले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष रु एक करोड बजेट विनियोजन गर्दै आएको जानकारी दिए।

