Lumbini Rise
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सञ्चालन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ एचडियू  सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरे ।

सेवा सञ्चालनको पहिलो दिन ५ जना बिरामीलाई उपचार सेवा प्रदान गरेर यसको सुरुवात गरिएको छ। हाल आंशिक रूपमा सुरु गरिएको एचडीयू सेवा दशैँपछि पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइने मेसु डा. गौतमले बताए । अस्पतालमा एचडीयू सेवा सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय उपचारसँगै आइसीयूको चाप घट्ने विश्वस व्यक्त गरे ।

सेवाग्राहीको माग र चाप अनुसार आवश्यक सुधार तथा विस्तार गर्दै जनताको भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्न बिकास समिति लागिरहेको उनले बताए । यसका लागि बिकास समिति, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी तथा तीनै तहका सरकारको साथ आवश्यक रहेको उल्लेख गरे ।

यसैगरी अस्पताल बिकास समिति सदस्य कल्पना ढकालले सेवालाई प्रभावकारी बनाउन समितिले अधिकतम समन्वय तथा पहलका लागि कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरिन् । अस्पतालमा एचडीयू सेवा प्रारम्भ हुनु सुखद कुरा भएको बताउँदै ढकालले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सामुहिक भावना जरुरी रहेको उल्लेख गरिन् ।

विशेष सघन निगरानी चाहिने बिरामीहरूलाई समयमै उचित सेवा प्रदान गर्न यसले ठूलो सहयोग पुर्‍याउनेछ भने अन्यत्र बिरामी प्रेषण गर्नुपर्ने बाध्यतामा समेत कमी आउने विश्वास लिइएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update