बिरेन्द्र बिक
पार्टीमा विचार, कार्यदिशा र कार्यनीतिमा कुनै असहमति नभई आफैले निर्माण गरेको पार्टी छोडेर अनावश्यक प्राविधिक आरोप लगाउँदै पार्टी त्याग्ने वा अर्को पार्टी निर्माण गर्ने, अनि सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकता गर्छु भन्नु आफैँमा विरोधाभासपूर्ण तथा हास्यास्पद विषय हो।
तपाईं-हाम्रा व्यक्तिगत कुण्ठा, आक्रोश, अधैर्यता, बाध्यता, निराशा र अवसरवादी चिन्तन तथा सोचले एकता होइन, विभाजन वा आत्मसमर्पण बाहेक अर्को कुनै परिणाम दिँदैन। यसले सिङ्गो कम्युनिस्ट आन्दोलन र नेता-कार्यकर्ता तथा शुभचिन्तकहरूमा आशा होइन, निराशा पैदा गरेको छ।
केही समय भ्रम सिर्जना गर्न सकिएला, तर त्यो धेरै समय टिक्दैन। हरेक व्यक्ति, संस्था, पार्टी र नेतृत्व प्रश्नरहित हुँदैनन् र छैनन्। विज्ञानले पुष्टि गरेका तथ्यहरूमा समेत प्रश्न र आशङ्का उठ्छन्। प्रश्नको जवाफ हामी सबैले दिनैपर्छ। तपाईं-हामी आफैँभित्र,आफैं माथी पनि एक होइन,अनेकौँ प्रश्न र आशङ्काहरु छ्न,किनकि हामी पनि यही समाजका प्रतिनिधि हौँ। ती प्रश्नहरूको जवाफ र स्पस्टता फिल्ड छोडेर होइन, त्यही फिल्डमा उभिएर तथ्यका आधारमा दिन तयार हुनुपर्छ,अलग भएर होइन।
जिम्मेवारी कसैको बढी होला, कसैको कम होला। तर यहाँसम्म पुग्न भएका निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने नेतृत्व नै बढी जिम्मेवार हुनुपर्छ र जिम्मेवारी पनि लिनुपर्छ। जिम्मा अनुसार नेतृत्वको जिम्मेवारी पनि उत्तिकै हुन्छ। योगदान र कमीकमजोरी जिम्मेवारीअनुसार सबैका छन् हुन्छन् र होलान्,तर निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने नेतृत्व र नेताहरूको भूमिका तथा जिम्मेवारी अनुसार स्वाभाविक रूपमा बढी हुन्छ।
सफलतामा रमाउने वा त्यसको स्वामित्व लिन तयार हुने, तर असफलताको जिम्मा अरूमाथि थोपर्ने कार्य किमार्थ पनि सही होइन। हिजो हामीले गरेका सही काम आफूले र गलत कामको जिम्मा पार्टी छोड्नेबित्तिकै नेतृत्व वा अरूमाथि मात्र थोपर्ने प्रवृत्ति पटक्कै राम्रो होइन। यसको अन्त्य गरौँ। राम्रो-नराम्रो कामको जिम्मेवारी आ-आफ्नो जिम्मेवारी जिम्मा अनुसार लिन तयार बनौँ ।
एकता हिजो पनि आवश्यक थियो, आज पनि आवश्यक छ र भोलि पनि आवश्यक मात्र होइन, अनिवार्य हुनेछ। एकता कसैले न कसैले पहल नगरी हुँदैन। कहिले काहीँ नभने पनि हुन्छ, किनकि एकता भनेजस्तो सजिलो छैन र होइन। जुन बेला सबैले यसको आवश्यकता बोध गर्छन्, त्यो बेला तपाईं-हामीले एकता नभने पनि एकता हुन्छ र अनिवार्य छ। तर त्यसबेलाको एकता विचार, कार्यदिशा र नेतृत्व आधारित हुन्छ। यदि त्यसो भएन भने, त्यस्तो एकता नेताहरूको स्वार्थ मिलेको वा पूरा भएको समयसम्म मात्र टिक्छ। इतिहासले यस्ता धेरै उदाहरणबाट पुष्टि गरेको छ। पार्टी छोड्दा एकताको नारा दिए पनि त्यसको उद्देश्य अर्को पार्टीमा आफ्नो स्वार्थपूर्तिको लागि बार्गेनिङ गर्नु बाहेक अर्को केही देखिँदैन। त्यसैले कुरामा एकता व्यबहारमा बिभाजन गरेर नेताकार्यकर्ता शुभचिन्तकहरुमा निराशा र भ्रम सिर्जना नगरौं। त्यसैले धैर्यता अपनाऔँ, अनावश्यक आरोप कसैमाथि नलगाऔँ, संयमित बनौँ र आफैँले आफ्नै समीक्षा गरौँ।रूपान्तरणसहित अगाडि बढौँ।
आन्दोलनलाई यहाँसम्म पुर्याउन सबैको महत्वपूर्ण भूमिका रहेका छन। कसैको भूमिका र जिम्मेवारी कम होला, कसैको बढी होला। सबैले आफ्नो जिम्मेवारीअनुसार योगदान दिएका छन्। विगतमा निर्वाह गरिएको भूमिका र योगदानप्रति उच्च सम्मान छ। तर विगतका योगदान, भूमिका वा इतिहास देखाएर आन्दोलनमाथि कुठाराघात गर्ने छुट कसैलाई छैन। इतिहासका नाममा मात्र होइन, वर्तमानमा पनि त्यस्तो छुट कसैलाई हुन सक्दैन।
त्यसैले एकता केवल कुरामा होइन, व्यवहारमै गरौं। एकताको नाम जपेर व्यक्तिगत स्वार्थपूर्ति नगरौँ। आफ्नो कुण्ठा, आक्रोश, निराशा, बाध्यता वा अवसरवादी सोचका कारण नेता-कार्यकर्ता र शुभचिन्तकहरु लाई एकताको नाममा बार्गेनिङको माध्यम नबनाऔँ। एकताको आधार विचार, सिद्धान्त,कार्यदिशा,देश जनता र आन्दोलनलाई केन्द्रमा राखेर हुनुपर्छ र गरिनुपर्छ, व्यक्तिगत स्वार्थमा होइन।
आन्दोलनलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण योगदान र भूमिका निर्वाह गर्नुहुने आदरणीय नेताहरूप्रति पुनः उच्च सम्मान व्यक्त गर्दछु। साथै, आगामी दिनका लागि हार्दिक शुभकामना,कम्युनिस्ट आन्दोलनको सुदृढ एकताका लागि हुने प्रत्येक इमानदार पहलको स्वागत सहित आभार तथा धन्यवाद व्यक्त गर्दछु।
विक नेकपा(माओवादी)रुपन्देहीका जिल्ला सेक्रेटरी हुन् ।


-1784986351.jpg)