Lumbini Rise
लुम्बिनी विकास कोषका उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग 

लुम्बिनी-  लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सरकारको ध्यानआर्कषण गराएको छ । अभियानले विवादित पृष्ठभूमिका व्यक्तिलाई लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक महत्वको स्थलको नेतृत्व सुम्पिनु उचित नहुँने भन्दै धर्ना सहित विरोध प्रदर्शन गरेको हो । 

महाअभियानले नवनियुक्त उपाध्यक्षको नियुक्तिप्रति असहमति जनाउँदै वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाएको छ ।

सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर अर्थात करिब १८ करोड ३१ लाख रुपैयाँ उनको खातामा आएको र त्यसपछि नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक खाता रोक्का गरी छानबिन अघि बढाएको महाअभियानले प्रेस विज्ञप्तीमा दाबी गरेको छ । 

त्यस्तै, आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामामा उनका मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको उल्लेख भएको विषय उठाउँदै अभियानले नागरिकताको वैधानिकतामाथि पनि प्रश्न गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यसको व्यवस्थापन धार्मिक पवित्रता, संस्थागत पारदर्शिता र स्थानीय भावनालाई ध्यानमा राखेर गर्नुपर्ने अभियानका अध्यक्ष अक्रम खानले बताए ।

उनले आफूहरुको मागको सुनुवाई नगरे आन्दोलन चर्काउने बताए । अभियानले नवनियुक्त उपाध्यक्ष आनीलाई लुम्बिनी प्रवेशमा रोक लगाउने जस्ता नारा लेखेर विरोधमा ब्यानर टाँगेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update