बुटवल - तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा, पर्यटन र वातावरण, महिला, युवा र उद्यमशीलता, रोजगार, सिप तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले आफ्नै सिटी कलेजमा फार्मेसी र नर्सिङ पढाइदेखि स्थानीय घाटसम्म निःशुल्क मलामी बस, सुलभ ल्याब सेवा, महिलामैत्री हाटबजार र सुलभ एग्रोभेट पसल सञ्चालनसम्मका कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा तिलोत्तमालाई ‘सुशासन सिकाइ केन्द्र’ का रूपमा विकास गर्ने घोषणा समेत गरिएको छ ।
नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी वर्षलाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ घोषणा गरेको छ ।ीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गर्न डिजिटल एपमार्फत कृषि परामर्श, माटो परीक्षण, मौसम पूर्वानुमान र रोग पहिचान सेवा विस्तार गरिने उल्लेख छ । किसानलाई कृषक सेवा कार्डका आधारमा मल, बिउ, सिँचाइ तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरिने भएको छ भने दूध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
किसानको उत्पादनको सुरक्षित भण्डारण र बजारीकरणका लागि एकीकृत सङ्कलन केन्द्र स्थापना गरिने, प्रमुख अन्नबाली न्यूनतम समर्थन मूल्यमा खरिद गरिने तथा प्रत्येक स्थानीय हाटबजारमा किसानका लागि निःशुल्क स्टल उपलब्ध गराइने नीति लिइएको छ । पशु स्वास्थ्य सेवालाई घरदैलोमा पुर्याउन पशु चिकित्सक र प्राविधिक परिचालन गरिने तथा सार्वजनिक–निजी साझेदारीमा सुलभ एग्रोभेट पसल सञ्चालन गरिने भएको छ ।
पर्यटन प्रवद्र्धनतर्फ ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ अभियान सञ्चालन गरिने भएको छ । शंकरनगर वन विहारको बहुउद्देश्यीय भ्यू टावर सञ्चालनमा ल्याइने, कुञ्ज पार्कलाई लेजर लाइटसहितको रात्रिकालीन उद्यानका रूपमा विकास गरिने र सेमरीस्थित सखिया थारू होमस्टेलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याइएको छ ।
बाउन्नकोटी वन क्षेत्रको नन्दभाउजू ताल संरक्षण, मोक्षधाम पूर्वाधार विकास तथा कृषि पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि समेटिएका छन् ।
महिला उद्यमशीलता प्रवद्र्धनका लागि सिमानगरमा महिलामैत्री हाटबजार सञ्चालनमा ल्याइने भएको छ । महिला उद्यमीका उत्पादन बिक्रीका लागि सम्झना बाल उद्यानमा बिक्री केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा एकल महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई सिपमूलक तालिममार्फत स्वरोजगारमा जोडिने नीति लिइएको छ ।
पूर्वाधार विकासतर्फ नगरपालिकाले आगामी वर्षलाई ‘सडक मर्मत वर्ष’ घोषणा गरेको छ । रणनीतिक महत्त्वका सडकहरूको स्तरोन्नति र मर्मत अभियान सञ्चालन गरिने भएको छ । वडा नम्बर ४, ५, ६, ७, ९, १३, १४ र १५ जोड्ने ऐतिहासिक पुरानो सडकलाई बहुवर्षीय गौरवको आयोजनाका रूपमा अघि बढाइनेछ । मधवलियादेखि एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमसम्मको सडक तथा तिलोत्तमा चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिने भएको छ ।
खानेपानी क्षेत्रमा वडा नम्बर १० देखि १७ सम्मका उपभोक्तालाई मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्दा महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था प्रस्ताव गरिएको छ । पिउने पानीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पनि सहजीकरण गरिने भएको छ ।
शिक्षा क्षेत्रमा नगरको सिटी कलेजमा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ (स्टाफ नर्स) कक्षा सञ्चालनमा ल्याइने भएको छ । सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षालाई वातानुकूलित बनाइने तथा स्मार्ट बोर्ड नभएका माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइने नीति छ । ‘एक विद्यालय, एक सृजनशील कार्यक्रम’, ‘एक माध्यमिक विद्यालय, एक स्काउट युनिट’ र करियर गाइडेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।
स्वास्थ्य क्षेत्रमा ‘कोखदेखि शोकसम्म तिलोत्तमा सरकार’ अभियानलाई थप विस्तार गरिने भएको छ । गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा, स्थानीय घाटसम्म निःशुल्क मलामी बस सेवा, सुलभ फार्मेसी र आगामी वर्षभित्र तिलोत्तमा सुलभ ल्याब सञ्चालनमा ल्याइने कार्यक्रम समेटिएको छ । आनन्दबन नगर अस्पताल र बीपी ग्राम आधारभूत अस्पताललाई गुणस्तरीय ल्याब तथा रेडियोलोजी सेवासहित सञ्चालनमा ल्याइने तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइने उल्लेख छ । नगरवासीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ ।
पर्यावरण तथा फोहोर व्यवस्थापनतर्फ निजी क्षेत्रसँग साझेदारीमा फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र स्थापना गरिने भएको छ । ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई निरन्तरता दिँदै मुख्य सडकमा हरियाली क्षेत्र निर्माण गरिनेछ । वातावरणीय अनुसन्धान तथा परीक्षण ल्याब स्थापना गर्ने र व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्ने कार्यक्रम पनि समावेश छ ।
सुशासनतर्फ नगरपालिकाले ‘कार्यालयमा लाइन होइन, अनलाइन सेवा’ नीति अघि सारेको छ । वडा र नगरबाट प्रदान हुने सेवा क्रमशः अनलाइन प्रणालीमार्फत प्रवाह गरिने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराइने भएको छ ।
ई–गभर्नेन्स, नागरिक मूल्याङ्कन प्रणाली, डिजिटल नागरिक बडापत्र र करसम्बन्धी पूर्वसूचना प्रणाली लागू गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।सबैभन्दा महत्वाकांक्षी घोषणामध्ये तिलोत्तमालाई ‘गुड गभर्नेन्स लर्निङ अर्गनाइजेसन’ अर्थात् सुशासन सिकाइ केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ ।
नगरपालिकाले अन्य स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्दै सुशासन, प्रविधि, सिप र पूँजी आदान–प्रदानको केन्द्र बनाउने लक्ष्य लिएको छ ।
नीति तथा कार्यक्रमले कृषि आधुनिकीकरण, स्वास्थ्य तथा शिक्षामा सेवा विस्तार, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र डिजिटल सुशासनलाई एकैसाथ जोडेको छ । तर महत्वाकांक्षी कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक स्रोत, बजेट व्यवस्थापन र परिणाममुखी कार्यसम्पादन भने आगामी वर्षको मुख्य परीक्षा हुने देखिएको छ ।

