Lumbini Rise
सकियो दुई दिने दलित ज्ञान उत्सव 

बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।

समापन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले ज्ञान उत्सव नेपालकै स्थानीय सरकारको उदाहरणीय कार्यक्रम रहेको बताए । उनले दलित समुदायको आर्थिक, सामाजिक तथा अन्य पक्ष कमजोर रहेकाले उनीहरुलाई राज्यको मूलप्रवाहमा ल्याउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याएको बताउँदै यसको कार्यान्वयनमा स्थानीय सरकारको समेत भूमिका महत्वपूर्ण हुने बताए । 

यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरलाई मानवताको सहर बनाउने अभियान अन्तर्गत तेस्रो वर्षको दलित ज्ञान उत्सव सफलता पूर्वक सम्पन्न गरिएको बताए । उनले तिलोत्तमा नगरपालिकाले हरेक बिषयमा इतिहास कायम गर्ने गरी काम गरेको बताए ।

यसैगरी समापन कार्यक्रममा उपप्रमुख जागेश्वरीदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडाअध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य सुरेन्द्र श्री, रवि सेन्चुरी, राधा शाही लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा विद्यार्थीहरुलाई झोला समेत वितरण गरिएको थियो । यसअघि ज्ञान उत्सव कार्यक्रम विभिन्न सत्रहरुमा छलफल गरिएको थियो ।

पहिलो दिन विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती गरिएको थियो ।  त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल भएकोे थियो । 

बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

उत्सवले दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याएको र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन यो कार्यक्रम आयोजना गरेको कार्यपालिका सदस्य एवम सामाजिक विकास समिती सभापति रवि सेन्चुरीले बताए ।

न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित दुई दिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले  उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update