Lumbini Rise
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने

बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए । 

नगरपालिकाबाट २५ लाख, नगरप्रमुख खाँबाट, उपप्रमुख उमा अधिकारीबाट १ महिना बराबरको सेवा सुविधा, वडाअध्यक्षहरुबाट पाँच दिन बराबरको सेवासुविधा, कार्यपालिका सदस्यहरुबाट ३ दिन र वडा सदस्यहरुबाट २ दिन बराबरको सेवा सुविधावापतको रकम कोषमा जम्मा गरिनेछ । 

त्यस्तै अधिकृतस्तरका कर्मचारीहरुबाट ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारीहरुबाट ५ र श्रेणीबिहीन कर्मचारीबाट २ दिन बराबरको तलब जम्मा गरिने नगरपालिकाले जनाएको छ । यी सबै रकम गरेर ३५ लाख बराबरको सहयोग जम्मा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 

विपत्तिको यस घडीमा नगरपालिका तथा वडा कार्यालयबाट हुने विभिन्न कार्यक्रम कटौती गर्दै उद्धार तथा राहतमा ऐक्वद्धता जनाउन नगरपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरुबाट आयोजना गरिने हरितालिका तीज लगायतका कार्यक्रमहरु रद्द गरी ती कार्यक्रमका लागि विनियोजित सम्पूर्ण रकम प्रधानमन्त्री प्रकोप दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख खाँले बताए । 

भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण पुगेको अपूरणीय क्षति, जनधनको हानी र सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सिद्धार्थनगर नगरपालिका अत्यन्तै मर्माहित र दुःखी भएको नगरप्रमुख खाँले बताए । ‘

बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा नगरपालिका परिवारकातर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै बाढीमा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, ’नगरप्रमुख खाँद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  २२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update