लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीको चिनारी हो मायादेवी मन्दिर । बौद्धमार्गीहरु चाहन्छन् जीवनमा एक पटक मायादेवी अगाडि उभिएर तस्विर खिचौं । तर मायादेवी मन्दिरको काखैमा जन्मिएका सुनिल हरिजनले तस्विरमात्रै होईन मायादेवी मन्दिरको दुरुस्तै चित्र (आर्ट) गरेर आफ्नो अभिलाषा पूरा गरेका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. १० महिलवारका २३ बर्षिय सुनिल बुद्ध र लुम्बिनीसँग सम्बन्धित चित्र बनाएर यस क्षेत्रमा परिचित छन्। बुद्धजन्मस्थल लुम्बिनीमा जन्मिएका उनी सानैदेखि चित्रकला त्यसमा पनि बुद्ध, शान्ति, करुणा र अंिहसाको सन्देश दिने कलामा रुची राख्थेँ । त्यसमाथि उनी पढ्दै आएको मेत्तय गुरुकुल स्कूलको वातावरणले पनि उनलाई बुद्ध र शान्तिको कलातर्फ डोर्याउन मदत गर्यो ।
त्यसो त सुनिलको चित्रकला मोह स्व. हजुरवुवा प्यारेलाल र पिता बाबुलालले जगाइदिएका हुन् । पिता बाबुलाल लुम्बिनी क्षेत्रका अब्बल मूर्तीकार र चित्रकारका रुपमा परिचित छन् । बाबुलालको कलाले नेपालमा मात्रै होईन रोजगारीका लागि कतार पुग्दा पनि उतीकै चर्चा पाएको छ । त्यहाँका राजा उनको कलाबाट प्रभावित भएर बाबुलालले बनाएका ३० वटा चित्र घरमै राखेका छन् ।
‘हजुरवुवाले देवीहरुको मूर्ती बनाउनुहुन्थ्यो, बुवाले पनि मूर्ती र चित्र बनाउनुहुन्थ्यो’ सुनिलले भने–‘त्यहि बेला कोईलाले घरको भित्ता र आगन कोरेर चित्र बनाउन सिके।’ घरमा मूर्ती र चित्र बनाउने हजुरवुवाको कामले नै प्रेरेणा मिलेको उनी बताउँछन् । मेत्तय गुरुकुलमा अध्ययनकै शिलशिलामा सुनिलले विभिन्न प्रतियोगिताहरुमा भाग लिएका थिए ।
‘जिल्ला स्तरीय पेन्सिल आर्टमा मैलै ५ पटक भाग लिए, पुरस्कारहरु पनि जिते’ सुनिलले विगत सम्झँदै भने –‘कक्षा ५ मा हुँदा पाटनमा भएको चित्रकला प्रतियोगितामा प्रथम भएपछि झन हौसला बढ्यो ।’ सुनिलले कक्षा १० सम्म लुम्बिनीकै मेत्तय गुरुकुलबाट गरेका हुन् । सानैदेखि पेन्सिल आर्ट गर्दै चित्रकलामा रमाएका सुनिल अहिले आफ्नो सिपलाई व्यवसायिक बनाउनका लागि ललितकला क्याम्पस काठमाडौंमा फाईन आर्टमा ब्याचलर अध्ययनरत छन् । ‘मेरो हजुरवुवा, बुवाहरुले पढेर यसमा लाग्नुभएको थिएन, मैले अध्ययन गरेरै आर्टमा आफूलाई चिनाउनुपर्छ भनेर ललितकलामा आर्ट पढेको छु’ सुनिलले भने । उनले हजुरवुवादेखि शुरु भएको मूर्ती र चित्रकलालाई आफूले आधुनिक युगसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्ने योजनामा रहेको बताए ।
‘सानैदेखि यो फिल्डमा काम गरिरहेको थिए, विदेशी कलाकारहरुको जीवनी पनि पढेँ’ उनले भने –‘भिजुअल आर्टको डिमाण्ड र बजार दुवै देखेकाले यता लागेको छु ।’ सुनिल अहिले काठमाडौंमा बसेर अध्ययन गरिरहेका छन् । उनले आफ्नो लागि चाहिने खर्चको जोहो पनि आफै जुटाइरहेका छन् ।‘वुवाले धेरै दुःख गर्नुभयो, हाम्रै लागि विदेशमा अझै पनि काम गरिरहनुभएको छ, त्यसैले मैले रुममै वर्क स्पेश बनाएर आर्ट गरेर आफ्नो खर्च व्यवस्था गरेको छु’ उनले भने । सुनिलले अध्ययनसँगै आफ्नो कलालाई निखार्दै आर्टमै जीवन विताउने योजनामा छन् ।
क्यानभासमा उनले नयाँ नयाँ थिमका चित्रहरु कोर्छन् । ‘लुम्बिनीमा जन्मिएकाले होला बुद्ध, शान्ति र करुणाका सन्देश दिने चित्र पहिल्यैदेखि बनाइरहेको थिए, अब समाजलाई कलामार्फत डोर्याउने चित्र बनाउने प्रयत्नमा छु’ उनले आफ्नो योजना सुनाए । त्यसो त सुनिलले बनाएका कलाहरु लुम्बिनी वरपर देखिन्छन् । लुम्बिनी स्थित होटल पिसल्याण्डमा उनले बनाएको आर्टले जोकोहीलाई मोहित तुल्याउँछ । उनले नेपालका चर्चित कलाकार, व्यक्तिहरुको लाईभ पेन्टिङ पनि गरेका छन् । यसका अतिरिक्त वात्सल्य, प्रेम, करुणा, प्रकृती र शान्तिका सन्देश दिने आर्टहरु गरेका छन् । कलालाई स्विकार गरेपनि समाजले चित्रकारलाई पेशाका रुपमा अझै पनि सम्मान गर्दैन । त्यसैले यहि कुरालाई मध्यनजर गरेर सुनिलले चित्रकार पनि डाक्टर, इञ्जिनियर वा यस्तै समाजले सम्मान गर्ने पेशा हो भन्ने बुझाउन चाहन्छन् ।
‘कला सोँचको प्रतिविम्ब हो, क्यानभासमा पोतिएका रंगहरुले मान्छेको सोँचनै परिवर्तन गराउन सक्छ’ सुनिल भन्छन् –‘हजार शब्दले भन्न नसक्ने कुरा एउटा चित्रले उतार्छ, त्यो शक्ति भएकाले पनि म आर्टमा झन बढि लागिरहन्छु ।’ ब्याचलर सकेपछि सुनिल मास्टर्सका लागि विदेश जाने योजनामा छन् । ‘विश्वव्यापी रुपमा आर्टको क्रेज बढ्दो छ, म हजुरवुवादेखि शुरु भएको परिवारको विरासत राख्न चाहन्छु, लुम्बिनीको इज्जत फैलाउन चाहन्छु’ उनले आफ्नो सपना सुनाए । आर्थिक अभावका कारण वुवा बाबुलाल कतारमा रोजगारीका जानुपरेको तितो अनुभव छ सुनिलसँग । यद्यपि बुवा कतार गएपछि कलाले थप ठाउँ पायो । तर, पनि आर्थिक अभावसँग जुध्दै यो परिवारले कलामा बिताएको संघर्षले अब प्रतिफल दिदै छ ।
२० बर्षदेखि कतारमा रहेका सुनिलका बुवाको कला कतारी राजा शेख तमिम बिन हमाद अल थानीको घरमा पुगेको छ । ‘मेरो बुवाले गरेको संघर्ष र सपनालाई मैलै पूरा गर्ने अठोट गरेको छु’ सुनिल भन्छन् –‘म आर्टबाटै आफूलाई चिनाउन चाहन्छु ।’ २०५७ साल फागुनमा जन्मिएका सुनिल घरको जेठो छोरा हुन् । उनका ३ वहिनी र एक भाई छन् । भाई र वहिनीहरुको पनि कलामा रुची देखिन्छ ।