Lumbini Rise
रसुवा बाढीको पिडा : ‘न लास भेटिन्छ, न सास’

बुटवल- रसुवा बाढीको दर्दनाक पिडा बुझ्न प्रभावित क्षेत्र मात्रै होईन, विभिन्न जिल्लाका अस्पतालमा पुग्दा पनि देख्न सकिन्छ ।

हिमाली क्षेत्रको बाढीले बगाएर तराईसम्म आइपुगेका शवभित्र पिडा मात्रै लुकेको छैन, परिवारको सपना पनि बगेको छ । भोटेकोसी रसुवा, नुवाकोट, चितवन हुँदै नवलपरासीसम्म बग्दै आएका शवहरुको क्षतविक्षत दृश्यले यतिखेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पनि कारुणिक बनेको छ ।  

रूपन्देही शुद्वोधन गाउँपलिका वडा न ३ का गोविन्द पंगेनीले आफ्नो भाईको खोजीमा सातादिन बिताए तर, न लाश भेटेका छन् न त सास नै । भोटेकोसी रसुवामा भदौ १० को आएको विनाशकारी बाढीमा परेर पंगेनीका भाई ३६ बर्षिय निराजन पंगेनी वेपत्ता छन् । 

चिलिमे हाईड्रोपावर २२० केभि प्रसारण लाईनमा कार्यरत निराजन बाढीपछि सम्पर्क विहिन भएका हुन् । ‘लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बाढीमा परेकाहरुको शव राखिएको खबर सुनेर आए, यहाँ फोटा हेर्दा पनि चिनिएन’ गोविन्द भने –‘शव त हेर्न सक्दैन ।’ उनले आफन्तहरु चितवन, कावासोती, पोखरा जताततै अस्पतालहरु पुगेर कतै भाई भेटिन्छ भनेर हेर्न गरेको भएपनि अहिलेसम्म न लाश न त सास नै भेटिएको सुनाए ।

‘शव आयो भन्ने खबर सुन्नासाथ कतै भाई भेटिन्छ की भनेर अस्पतालमा आउने गरेको छु’ गोविन्दले भने –‘हिजो पनि आए, आज पनि आए तर शव पहिचान गर्न सकिएन ।’ गोविन्द निराजनका ठूलोबुवाका छोरा हुन् ।

निराजनका बुवा आमा र एक भाई रुपन्देही शुद्धोधनमा बसोबास गर्छन् । तर, वेपत्ता भएका निराजन भने काठमाडौंमै बसोबास गर्दै आएको थिए । ४ बर्षकी छोरी र श्रीमती चित्रा पंगेनी समेत सरकारी कर्मचारी रहेको दाजू पंगेनीले बताए । उनले रसुवा बाढीले निकै ठूलो पिडा दिएको बताए । 

त्यसो त अस्पतालमा फोटो बोकेर शव पहिचानका लागि आउने आफन्तीहरुको भिड नै लाग्ने गरेको छ । नेपाल सरकारका पूर्व र वहालवाला दम्पती डा. बिमल आचार्य र सुष्मा अर्याल आचार्यको तस्विर लिएर लुम्बिनी प्रादेशिक अस्पतालमा भेटिए महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख डा . लालमणि आचार्य ।

भतिज बुहारीको खोजीमा कपिलबस्तु हुँदै बुटवलसम्म आइपुगेका लालमणिले मानसरोवरको यात्रामा गएका दम्पत्ती वेपत्ता भएकाले खोजीका गर्दै हिडेको बताए ।

 ५९ बर्षिय बिमल नेपाल टेलिकिमको सिनियर इञ्जिनियरबाट अवकाश प्राप्त कर्मचारी हुन् भने सुष्मा राष्ट्रिय परीक्षा बोर्डको वहालवाला उपसचिव हुन् । हाल काठमाडौ सरस्वतिनगर चाहविलमा बसोबास गर्ने उनीहरुको पुख्र्यौली प्यूठान माण्डवी गाउपालिका ४ तिघ्रा हो । ‘१० गते विहान साँढे ८ बजेसम्म आमा शान्ता लक्ष्मीसँग कुरा भएको रहेछ, आजसम्म कुनै अत्तोपत्तो भएन’ अर्का दाजू कृष्ण प्रसाद आचार्यले भने । उनले फोटो हेरेर चिन्न नसकिएको बताए । 

बाढीले सयौं मानिस वेपत्ता बनाएको खबर सुनेपछि आफन्तीहरु अस्पतालमा फोटो लिएर धाइरहेका छन् । तर, अस्पतालमा राखिएका शवमा पनि आफ्नो मान्छे भेटेका छैनन् । कम्तीमा शव भएपनि पाईन्छ की भनेर आफन्तीहरु आउँछन् । तर, शवको क्षतविक्षत दृश्यले शव पहिचानका लागि समेत एकोहोरो हेर्न सकिदैन ।

स्पष्ट अनुहार देखिदैन, क्षतविक्षत शरीर अनी चोटैचोट । ‘न फोटो हेरेर चिन्न सकिने रहेछ, न त शव हेरेर’ प्यूठान  गौमुखी ३ खराका बोमबहादुर पुन खोज्दै लुम्बिनी प्रादेशिक अस्पताल आएकी दिदि खिमा बुढा मगरले भनिन ।

खिमाको एक्लो भाई हुन् बोमबहादुर । रसुवा हाईड्रो पावरमा मेकानिकल हेल्परका रुपमा कार्यरत २६ बर्षिय बोमबहादुर भदौ १० गते प्यूठान घर आउँदै थिए । ‘विहान घर जान्छु भनेर हिडेको थियो भाई, रसुवाको मैलुङ भन्ने ठाउँमा आएपछि सम्पर्र्क विहिन भयो’ उनले भनिन । 

रसुवाको बाढीले आफन्तीहरुको पिडा दिनप्रतिदिन बल्झिदै छ । गोसाईकुण्डको धार्मिक भ्रमणमा निस्केका गोरखा पालुङटार  ५ नौखोरगाउँका ३० जना सम्पर्कविहिन भएपछि सिंगो गाउँ नै खोजीमा निस्केको छ । ३६ जनामध्ये ६ जना हाम फालेर बाँचेका छन् ।

त्यसमध्ये ३० जना सम्पर्कविहिन भएपछि सिंगो गाउँनै चितवन, नवलपरासी हुँदै बुटवलसम्म अस्पतालमा कतै आफन्तीको शव भेटिन्छ की भन्दै हिडेछन् । ‘हामीले आफन्तीहरु खोज्दै हिडेका छौं, तर कतै पनि पाउन सकिएन’ गोरखा पालुङटारबाट आएका सुरेश क्षेत्रीले भने ।

उनका अनुसार ग २ ख ११५२ नम्बरको बसमा गोसाईकुण्ड भ्रमणमा निस्केका गाउँको टोली  त्रिशुली बजार आसपासमा पुग्दा बाढीले बगाएको हो । सागर देवकोटा, राममाया देवकोटा, नानुमाया थापा, पद्मकुमारी देवकोटा  सहित ३० जना वेपत्ता भएका छन् । ‘चितवन, नारायणगढ हुँदै बुटवल सम्म आइपुगियो, तर पनि शव भेटिएन’ गोरखा पालुङटार ५ नौखोरका इश्वरबहादुर थापाले भने ।

उनको श्रीमती,सासू र श्रीमतीको वहिनि सम्पर्कविहिन भएका हुन् । गोरखाबाट भदौ १० गते विहान ४ बजे गोसाईकुण्डका लागि बस हिडेको थियो । गल्छी आसपास पुग्दा दुर्घटना भएको हुनसक्ने इश्वरबहादुर थापा बताउँछन् ।

थापा यान्त्रिक कार्यालय डुम्रे तनहुँमा कार्यरत छन् । उनी विहान ९ बज्न ५ मिनेट बाँकी छदा अफिस पुगेर श्रीमती नानुमायासँग कुरा भएको त्यसपछि सम्पर्क टुटेको बताउँछन् । ‘साह्रै पिडा भयो, न लास भेटिन्छ, न श्वास, हामी पिडै पिडामा अस्पताल डुलिरहेका छौं’ उनले भने । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी सुस्तामा भेटिएका मध्ये ३९ शव  राखिएको छ । यसमा अंग र शवहरु रहेको छ । अहिले बुटवलमा राखिएको शवको पोष्टपार्टम गर्ने र डिएनए गर्ने गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म बुटवलमा ५९ वटाको पोष्टपार्टम र डिएनए परीक्षण गरिएको छ । बुटवल ल्याएका मध्ये एक जनाको मात्रै शव पहिचान भएको र बाँकी कुनै पनि पहिचान हुन नसकेको उनले बताए । लुम्बिनी प्रादेशिकमा बाढीको शबले शबगृह (मर्चरी) भरिएको छ । 

नारायणी नदीमा १७० वटा शव फेला 


नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन्। तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिएनए संकलनगरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानकालागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरुसंगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएका छन् । सुनवलनगरपालिका स्थित एक सामुदायिक वनमा शव व्यवस्थापन गरेर राखिएको छ । 


सनाखत भएका व्यक्तिहरूमा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन् ।


त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको र आफन्तले पोखराबाट बुझेर लगेको विवरणमा उल्लेख छ । पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परी सनाखत भएको र आफन्तले बुझेर सद्गद गरेको जनाइएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले सनाखत गरी बुझेका छन् ।

सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले सनाखत गरी बुझेको विवरणमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीमा फेला परेका १७० शवमध्ये हालसम्म ६८ शवको व्यवस्थापन गरिएको छ । चार शवको सनाखत भएको छ भने ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update