लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईतबार सकिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो ।
सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटनसँग सम्बन्धित पूर्वाधार तथा सेवा सुविधाहरूको स्तरउन्नती गर्दै स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसरहरूको प्रवद्र्धन गर्ने बिषयमा छलफल गरिएको थियो ।
सम्मेलनले सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने प्रतिबद्धता गरेको छ । शुक्रबारदेखि विभिन्न चरणमा अन्तर्राष्ट्रिय -राष्ट्रिय सम्पदा विज्ञ तथा सरोकारवाला प्रतिनिधिहरुले छलफल मार्फत विभिन्न सुझावहरु दिएका छन् ।
सरकारले बृहत्तर लुम्बिनी क्षेत्रका लागि विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ अर्ब ६३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणमा ग्रेटर लुम्बिनी एरिया (ग्लाण्ड) आयोजना सुरु गरेको छ । आयोजना कार्यान्वयनको चरणअघि लुम्बिनीमा विज्ञ, जनप्रतिनिधि र सरोकारवालासँग सम्मेलन गरेर सुझावहरु संकलन गरेको यूनेस्कोले जनाएको छ ।
सम्मेलनमा लुम्बिनी विकास कोष, तोकिएका समुदाय आधारित संघ–संस्थाहरू, विहार÷गुम्बा समुदायहरू र सम्बन्धित स्थानीय सरोकारवालाहरूसँगको गहन सहकार्यमा नगरपालिकाहरूमार्फत स्थानीय समुदायको सहभागिता समन्वय गर्नुपर्ने सुझावहरु दिइएको छ ।
यसैगरी सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण÷संरक्षकत्व र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने, पूर्वाधार वा विकास निर्माणका कार्यहरू स्वीकृत गर्नुअघि गुरुयोजना, भू–उपयोग योजना, संरक्षण योजना, जलवैज्ञानिक अध्ययन, ढल निष्कासन÷निकासका उपायहरू र पर्यावरणीय न्यूनीकरण योजनाहरू तयार गरी कार्यान्वयन गर्नुपर्नेमा छलफलमा जोड दिइएको छ ।
यसैगरी लुम्बिनी स्थित पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक तथा पुरातात्विक अवशेषहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्य–मान्यताको सम्मान हुने गरी जीर्णोद्धार तथा संरक्षण गर्न समेत सुझाव दिइएको छ ।
सम्मेलन समापनका अवसरमा बोल्दै रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानले बृहत्तर लुम्बिनी क्षेत्र परियोजनाले पूर्वाधार विकास, दिगो पर्यटन, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले लुम्बिनी बुद्ध धर्माम्बलम्बीसँगै सिगो मानवहरुको पवित्रस्थल भएकाले यहाँको विकासले स्थानीय समुदायलाई समेत जोड्न सक्नुपर्ने बताए ।
यस्तै समापन समारोहमा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सौभाग्य प्राधानाङ्गाले सम्मेलनबाट प्राप्त भएका सुझावहरु निकै महत्वपूर्ण रहेकाले त्यसलाई कार्यान्वयन गर्नतर्फ मन्त्रालय सहित सरोकारवाला सबै पक्षविच सहकार्य हुने बताईन । उनले बृहत्तर परियोजना मार्फत लुम्बिनी र बुद्धसँग जोडिएका बृहत्तर क्षेत्रमा दीगो पर्यटन विकास, सम्पदा संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सुधारका कामहरु हुने बताईन ।
यस्तै समापन समारोहमा बोल्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा सम्मेलनले लुम्बिनीको महत्वलाई पुन पुष्टि गरेको समेत बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्र जीवित सम्पदा स्थल, तीर्थस्थल र आध्यात्मिक थलो भएकाले यसको विकासमा बृहत्तर लुम्बिनी परियोजना सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
यसैगरी नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैंकका प्रतिनिधि बसन्त पौडेल, यूनेस्कोका संस्कृती प्रमुख नभा बस्न्यात थापा लगायतले बोलेका थिए ।
सम्मेलनमा सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यान्मार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायत मुलुकका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्वविद्, सम्पदाविद् भिक्षु–भिक्षुणी तथा सरकारी अधिकारी, स्थानीय तहका जनप्रतिनिधि सहित १ सय ५० जनाभन्दा बढीको सहभागी सहभागिता रहेको युनेस्को संचार प्रमुख रविन राईले बताए ।
बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, बुद्धको अस्थिधातु रहेको रामग्राम, देवदह लगायत महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन् ।
सम्मेलनमा पुरातत्व विभागका महानिर्देशक सुरेस सुरस श्रेष्ठ, सम्पदा विज्ञ प्रोफेसर रोविन कनिङघम, डा. काई वाईजे, विज्ञहरु कोषप्रसाद आचार्य,राजेन्द्र सुवाल, इना प्रधान सालिके, भिक्षु, लामा गुरुहरुले विभिन्न बिषयमा प्रस्तुती राखेका थिए । सम्मेलनको शुक्रबार संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्क राज पौडेल (गनेश) ले उद्घाटन गरेका थिए ।


-1792055189.jpg)