काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल आउने जहाजलाई नेपाली आकाशमा छिर्दा दिइने एयररुट थप गर्ने उल्लेख गरिएको छ ।
हाल नेपालले यसरी विदेशबाट आउने जहाज सिमराबाट मात्रै प्रवेश पाउने व्यवस्था रहेकोमा अब भैरहवाबाट समेत भित्रिन पाउनेगरी एयररुट दिन भारत सहमत भएको छ । यो सहमतिले हालसम्म निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको सञ्चालन गर्न तथा त्रिभुवन विमानस्थलमा आउने जहाजको लागत घटाउन सहयोग पुग्ने देखिएको छ ।
यसअघि सरकारले भारतसँग भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट नेपाल प्रवेशका लागि अनुमति माग्दै आएको थियो । यसमध्ये पहिलो सबैभन्दा छोटो रुट भैरहवा नै हो । यसअघि गोरखनाथ एयरबेसको सुरक्षा थ्रेटको कारण देखाउँदै एयररुट दिन अस्वीकार गर्दै आएको भारतले यसपटक भने भैरहवा रुट नै दिन सहमति जनाएको हो ।यो सहमतिले नेपालबाट विदेशमा रोजगारीमा जाने श्रमिकदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । योसँगै क्षत्रीय विमानस्थलहरूबाट भारतीय सहरमा सीधा हवाई सञ्जाल विस्तारमा समेत सहजता मिल्ने देखिएको छ।
तर, यो सहमतिले उडानमा कसरी र कति सहज हुन्छ ? कति लागत बचत हुन्छ र कति समय घट्छ भन्ने सम्बन्धमा आम रूपमा चासो छ ।
एयररुट पाउँदा पश्चिमबाट आउने जहाजलाई कसरी हुन्छ फाइदा ?
नेपालमा दैनिक करिब १ सयदेखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गरेका छन् । अन्तर्राष्ट्रिय उडान बाहिरिनका लागि नेपालसँग धेरैवटा प्रस्थानविन्दु छ । तर, विदेशबाट जहाज भित्रिने जहाजका लागि भने भारततर्फ सिमरा मात्रै प्रवेश बिन्दुको रूपमा रहेको छ ।
पूर्वी गन्तव्यदेखि पश्चिम एशियासम्म जाने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्र नेपाल पस्न बाध्य छन् । चीन र हङकङ र दक्षिण कोरिया र जापानबाहेक अन्यत्रबाट आउने सबै जहाज सिमरा हुँदै आउने गरेका छन् । यसमध्ये पश्चिम एशियाका मुलुकहरू कतार, युएई, साउदी अरब, कुवेत, टर्किए तथा भारतकै दिल्ली, मुम्बई, बैंङलोर लगायतका सहरबाट आउने उडानले फन्को लगाएर सिमराबाट भित्रिनुपर्ने बाध्यता थियो ।
यसबाहेक भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा यही एयररुटका कारण समस्या हुँदै आएको थियो । यी विमानस्थलहरूमा जाने जहाजले सिमरासम्म आएर पुनः पश्चिमतिर यूटर्न लिनुपर्दा भैरहवाका लागि करिब २ देखि ३ सय किलोमिटर अतिरिक्त थप उड्नुपर्ने बाध्यता थियो । यो कारणले यी विमानस्थल तुलनात्मक रूपमा महँगो हुन पुगेको थियो ।
भैरहवा प्रवेश बिन्दु खुलेसँगै पश्चिम एशिया र भारतका विभिन्न सहरबाट आउने जहाजलाई सिधै नेपाली आकाशमा छिर्न बाटो खुल्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षत्रीका अनुसार मध्यपूर्व तथा पश्चिम एशियाबाट काठमाडौं आउने जहाज भैरहवाबाट प्रवेश गर्न पाउँदा प्रतिउडान १५ मिनेटसम्म समय बचत हुनेछ । भैरहवा र पोखराका लागि त्योभन्दा धेरै समय लाग्नेछ । ठुला वाइडबडी र न्यारोबडी जहाजका लागि यति समय बचत हुनु आर्थिक र प्राविधिक दुवै दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।
उडान समय घट्दा हवाई इन्धनको खपत उल्लेख्य मात्रामा कम हुन्छ । यसका साथै क्रु मेम्बरको उडान अवधि घट्दा तिनको भत्ता र सञ्चालन खर्च पनि कम पर्न जान्छ । सञ्चालन लागत घटेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडादर घटाउन सक्ने अवस्था बन्छ । यसको प्रत्यक्ष लाभ वैदेशिक रोजगारीमा आउजाउ गर्ने नेपाली श्रमिक र पर्यटकले पाउनेछन् ।
अर्कोतिर काठमाडौंको हवाई ट्राफिकका कारण हुनुपर्ने होल्डलाई कम गर्न समेत सहयोग पुर्याउनेछ । यद्यपि, महेन्द्रनगर वा नेपालगञ्जको रुट प्राप्त भएको भए पश्चिमबाट पोखरा जाने जहाज अलिकति घुम्नुचाहिँ पर्छ । यद्यपि डेढ दशक लामो गतिरोधपछि भैरहवा रुट खुल्नुलाई उड्डयन क्षेत्रले ठुलो उपलब्धिका रूपमा हेरिएको छ ।
भारतीय सहरमा उडान सहज
भैरहवा प्रवेश मार्ग खुलेपछि नेपाल र भारतबिचका क्षत्रीय उडान विस्तारमा समेत नयाँ ढोका खुल्ने देखिएको छ । हाल नेपाली वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं–बनारसमा नियमित उडान गर्दै आएको छ । तर, दुईतर्फी प्रवेश मार्ग नहुँदा उडान व्यवस्थापनमा समस्या थियो ।
अहिले बुद्ध एयरको जहाज नेपालबाट बनारस जाँदा भैरहवाको निकास बिन्दु प्रयोग गरेर बाहिरिने गरेको छ, तर फर्कंदा भने सिमरासम्म घुमेर आउनुपर्ने बाध्यता रहँदै आएको छ । भैरहवाबाटै भित्रिन पाउने व्यवस्था कार्यान्वयनमा आएसँगै अब जाँदा र आउँदा दुवैतर्फ सोझो र छोटो दूरीको उडान सम्भव हुनेछ ।
यसले काठमाडौं मात्र होइन, पोखरा र भैरहवा विमानस्थललाई भारतका प्रमुख धार्मिक, पर्यटकीय र व्यावसायिक सहरहरूसँग सीधा हवाई सञ्जालमा जोड्न सहज बनाउनेछ । विशेषगरी लुम्बिनी आउने भारतीय तथा अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्री र पोखरा घुम्न आउने पर्यटकका लागि यो रुट निकै उपयोगी साबित हुन सक्ने पूर्वमहानिर्देशक क्षत्री बताउँछन् ।
यो सहजताले भैरहवा र पोखरामा उडान लागत घट्ने र विदेशी वायुसेवाका लागि यी गन्तव्य व्यावसायिक रूपमा आकर्षक बन्ने विश्वास लिइएको छ । यद्यपि, एयररुट मात्र प्राप्त हुँदैमा विमानस्थल स्वतः चल्ने नभई यात्रुको पर्याप्त संख्या, सहज बजार र एयरलाइन्सको नाफा सुनिश्चित हुने वातावरण पनि उत्तिकै आवश्यक रहने उड्डयन क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपालको आम्दानी र रोयल्टीमा के असर पर्छ ?
हवाई मार्गको प्रयोगसँग देशको राजस्व र वायुसेवाको लागत प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । अन्तर्राष्ट्रिय नियम अनुसार जहाज जुन देशको आकाश प्रयोग गर्छ, सोही देशलाई नेभिगेसन तथा एयर रुट प्रयोग शुल्क तिर्नुपर्छ । अहिले पश्चिमतिरबाट आउने जहाजले भारतीय आकाश हुँदै सिमरासम्म लामो दूरी तय गर्दा त्यसबापतको शुल्क भारतलाई बुझाउनुपर्ने अवस्था छ । नेपालले भने सिमरादेखि काठमाडौंसम्मको निकै छोटो दूरीको मात्र शुल्क पाउने गरेको छ ।
पूर्व महानिर्देशक क्षत्रीका अनुसार भैरहवाबाट सिमरासम्म उड्न लाग्ने करिब १० मिनेट बराबरको भारतीय आकाश अब प्रयोग गर्नु नपर्दा नेपाली तथा विदेशी वायुसेवाले भारतलाई तिर्ने एयर रुट शुल्क जोगिनेछ । अर्कोतिर नेपालमा उड्ने दूरी बढ्दा यसले नेपाली जहाजलाई केही सहज हुनेछ ।
टुङ्गिन बाँकी प्राविधिक विषयमा शतर्कता जरुरी
प्रधानमन्त्रीस्तरीय भ्रमणमा भएको यो सहमति राजनीतिक र नीतिगत स्तरको महत्त्वपूर्ण समझदारी हो । तर, यसको वास्तविक कार्यान्वयन दुवै देशका नागरिक उड्डयन निकायबिच टुङ्गिने प्राविधिक पक्षमा निर्भर रहनेछ ।
यसमध्ये सबैभन्दा मुख्य विषय जहाजको फ्लाइट लेभल हो । नेपालबाट भैरहवा हुँदै बाहिरिँदा जहाजका लागि उचाइको कुनै कडा सीमा तोकिएको छैन । तर, भित्रिँदा कति हजार फिटको उचाइबाट प्रवेश गर्न पाउने भन्ने विषय संयुक्त समझदारीमा स्पष्ट पारिएको छैन । त्यसैले, जाँदाखेरि जस्तै आउँदा पनि उचाइमा अनावश्यक बन्देज नतोकिनु अनिवार्य सर्त रहेको पूर्व महानिर्देशक क्षत्रीको भनाइ छ ।
यस्तै, भैरहवा विमानस्थल नेपाल–भारत सीमाबाट करिब ५ किलोमिटरको दूरीमा मात्र रहेकाले त्यहाँ जडित इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) र एप्रोच पाथको सञ्चालन अर्को महत्त्वपूर्ण प्राविधिक पाटो हो । यो विषयलाई पनि एयररुटसँगै समाधानमा ध्यान दिनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

