Lumbini Rise
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन सुरु

लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन आइतबारदेखि सुरु भएकाे छ ।  प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान तथा साधकहरूले बुद्धका उपदेश सामूहिक रूपमा वाचनमा सहभागी भएका हुन् । 

लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा ७ दिन सम्म कार्यक्रम सुरु हुनेछ ।  कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन पाठ गरिनेछ । विभिन्न बौद्ध परम्पराका अनुयायीहरूलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आयोजकका अनुसार बुद्धका शिक्षाको संरक्षण, अध्ययन र प्रसार गर्नुका साथै विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थना गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो ।

कार्यक्रममा तिब्बती बौद्ध ग्रन्थ ‘काङ्ग्युर’मा सङ्गृहीत बुद्धवचनहरूको समेत वाचन गरिनेछ ।काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशहरूको प्रमुख ग्रन्थसङ्ग्रह हो । यसमा विभिन्न सूत्र तथा तन्त्रसम्बन्धी ग्रन्थहरू समावेश छन् ।

कार्यक्रममा अङ्ग्रेजी भाषामा बुद्धवचन वाचन गर्न अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० स् ट्रान्सलेटिङ द वर्ड्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थहरू प्रयोग गरिएकाे बताइएको छ । 

यस संस्थाले तिब्बती बौद्ध ग्रन्थहरूलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि निःशुल्क उपलब्ध गराउँदै आएको छ । तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’को अवसर पारेर कार्यक्रम  गरिएको हो । बौद्ध परम्परागत मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ ।

तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । यस अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ ।

लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमले बुद्धको जन्मस्थललाई विभिन्न बौद्ध परम्पराको सामूहिक साधना र आध्यात्मिक संवादको केन्द्रका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update