बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले व्यक्तिगत स्वार्थ र ‘म मेरो’ भन्ने सोचबाट माथि उठेर राष्ट्रिय हित र सामूहिक विकासका लागि अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।
शनिबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपाली समाजमा बढ्दै गएको गैरजिम्मेवारीपन र स्वेच्छाचारिताका कारण राजनीतिक तथा आर्थिक विषयमा गम्भीर बहस र पैरवी हुन नसक्नु दुःखद भएको बताए । उनले नेपालको विकासका लागि सहमति, सहकार्य, समन्वय, सहअस्तित्व र सद्भाव कायम गर्न आवश्यक रहेको धारणा राखे ।
आर्थिक अनुसन्धान केन्द्र नेपाल र समृद्धि सरकार केन्द्रको संयुक्त आयोजनामा शनिबार बुटवलमा गरिएको ‘विस्तृत शान्ति सम्झौताका दुई दशक :सामाजिक–आर्थिक उपलब्धि र अबको बाटो’ विषयक नागरिक संवाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि सुदर्शन बरालले पुराना राजनीतिक दलहरूले कठोर संघर्ष र यातनापूर्ण परिस्थितिको सामना गर्दै राजनीतिक परिवर्तन सफल बनाएको तथा आर्थिक समृद्धिका आधार सिर्जना गरेको बताए । देशमा केही पनि भएन भन्नु राजनीतिक बेइमानी हुने उनको भनाइ थियो ।
त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विगतका राजनीतिक आन्दोलनको जगमा देश अगाडि बढिरहेको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गरेर राजनीतिक दलहरूले आफ्ना कार्यक्रम जनस्तरसम्म पुर्याउनुपर्ने बताए ।
समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता मनिकर कार्कीले नेपाली समाजको अस्थिर र बरालिने प्रवृत्तिका कारण विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेका सबै उपलब्धि पूर्ण रूपमा हासिल हुन नसकेको बताए । सबैले चाहेजस्तो समाज निर्माण गर्न सम्भव नभए पनि त्यसका लागि अन्तिमसम्म प्रयास जारी राख्नुपर्ने उनको भनाइ थियो ।
बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले विस्तृत शान्ति सम्झौतापछि आधुनिक नेपालको इतिहासमा सामाजिक–आर्थिक सूचकहरूमा सकारात्मक परिवर्तन आएको बताए । यद्यपि युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीमा जोड्न अझै चुनौती रहेको उनले औँल्याए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम परियार, बुटवल नगर सभापति रीता केसी, नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजन पाण्डे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुनाराम पोखरेल, युवा व्यवसायी प्रकाश भुसाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता हुमराज भुसालले गरेका थिए भने मुकुन्द पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम ऋषि आजादले सञ्चालन गरेका थिए भने गणेश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

