Lumbini Rise
लुम्बिनीमा दुर्लभ पक्षी सारस [तस्बिरहरू]

लुम्बिनी- दुर्लभ पक्षी सारस बुद्धजन्मस्थल लुम्बिनी र आसपासमा भेटिन्छन्। रूपन्देही र कपिलवस्तुका खेतमा यो पक्षी देखिन्छ। उड्न सक्ने सबैभन्दा ठूलो पक्षी सारसले साउनदेखि भदौसम्म बच्चा कोरल्छ। धान हुर्कँदै गर्दा खेतमा सारसका बथान देखापर्छ।

पछिल्ला वर्षमा मानवीय अतिक्रमण, विकास निर्माणले गर्दा सारस बुद्धजन्मस्थल लुम्बिनीबाट बिस्तारै उत्तरतर्फ बासस्थान सारेको विज्ञहरूले बताएका छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तुका मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका क्षेत्रमा देखिँदै आएको सारस यस वर्ष भने रूपन्देहीको सियारी गाउँपालिकाका खेतमा समेत देखिएको छ। प्रेम र समर्पणको प्रतीक मानिने सारस प्राय: जोडी भेटिन्छन्।

बौद्ध धर्मग्रन्थमा गौतम बुद्ध र सारसको प्रसंग पाइन्छ। राजकुमार सिद्धार्थ गौतम (बुद्ध) र उनका मामाका छोरा देवदत्तबीच सारसको विषयलाई लिएर उत्पन्न विवाद राजा शुद्धोदनले समाधान गर्नुपरेको विषय बौद्धग्रन्थमा उल्लेख रहेको जानकारहरू बताउँछन्। लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषले सारसलाई नगर पक्षी घोषणा गरेर संरक्षण अभियान थालेका छन्। यद्यपि यो पक्षीको बासस्थान खुम्चिँदै गएको देखिन्छ। सारस पक्षी नेपाल, अस्ट्रेलिया, क्याम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छन्। यस्तै यो मध्यपश्चिम तराईको आवासीय चरा हो।

लुम्बिनी फार्मल्यान्डलाई बर्ड लाइफ इन्टरनेसनलसमेतले पहिचान गरेको नेपालको चरा एवं जैविक विविधताका लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षको बेलडाँडी र कालिकिच ताल (२००३), बर्दियाको बढैयाताल (२०११), बाँके जिल्लाको नेपालगन्ज (२०१०/२०१५), दाङ (२०१५), जगदीशपुर रामसार क्षेत्र (२००६–२००८) र चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी र चितवन जिल्ला (२००८–२०११) मा पनि यो चराको रेकर्ड भएको छ।

नेपालमा यो चराको संख्या ५ देखि ७ सयको हाराहारीमा रहेको अनुमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको चराविद् कृष्ण भुसालले बताए। उनका अनुसार सारसले एक वर्षमा बढीमा दुईवटा मात्र अण्डा पार्छ। सारसलाई बच्चा कोरल्न करिब दुई महिना लाग्ने उनले बताए।

आईयूसीएन र नेपाल बर्ड रेड डाटा बुकले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ। नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीका रूपमा अनुसूची १ मा सूचीकृत गरेको छ। 

तस्विरहरु : लुम्बिनी स्थित थाइ विहारका माेन्त्री चित्लाङ्ग  

783673553_28570774579213682_8651531241997412787_n-1787414450.jpg

784293491_28570773522547121_3703926657404381599_n-1787414448.jpg

784080429_28570773662547107_4920380044968024106_n-1787414447.jpg

784904265_28570774459213694_6904185176511954339_n-1787414445.jpg

783512818_28570774612547012_4906582543915759913_n-1787414446.jpg

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update