बुटवल : प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल आज दिउँसो हुने भएको छ । सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय टिम बि बिच उपाधि भिडन्त हुनेछ ।
सिद्धार्थ केबल कार लिमिटेड शीर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको हो।
आज मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले नवरत्न माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
त्यसै गरी आजै बिहान भएको दोस्रो सेमिफाइनलमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय (टिम ‘ए’) र टिम ‘बी’ बिचको खेलमा १–० को साँघुरो जित निकाल्दै टिम बि फाइनलमा पुगेको हो ।
सैनामैनाका कप्तान सुभाष नेपाली, नवीन बिका टिम ‘बी’ का सुनिल दमाई ‘प्लेयर अफ द म्याच’ घोषित भए । देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा दिउँसो ३ बजेपछि फाइनल खेल हुनेछ । निकै उत्साहजनक उपस्थितिमा खेल भएको बताउँदै फाइनल खेलमा सहभागी हुन विद्यालयका प्राचार्य शंकर भण्डारीले आग्रह गरेका छन् ।
प्रतियोगितामा उपाधि विजेता समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । भदौ १ गतदेखि सुरु भएको प्रतियोगितामा ४४ समूहको सहभागिता रहेको थियो ।

