लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँका प्राकृतिक सम्पदालाई जोडेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय संरक्षण तथा विकास केन्द्रले सोमबार लुम्बिनीमा गरेको कार्यक्रममा सहभागीहरुले पर्यटकको बसाई अवधि लम्बाउन नजिकका हरियाली वन क्षेत्र, तालतलैया र वस्तीहरुको पनि प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको हो ।
राष्ट्रिय संरक्षण तथा विकास केन्द्रका प्रमुख सिद्धार्थ बज्र बज्राचार्यले लुम्बिनी आएका पर्यटकलाई यही मात्र सिमित राख्न हुने बताए। लुम्बिनीको क्षेत्र भन्दा बाहिर प्राकृतिक तथा साँस्कृतिक सम्पदा, सामाजिक संरचनाहरु छ। ति ठाउँसँग लिंक गर्न सक्यौं भने हामीले पर्यटनबाट धेरै फाइदालिन सक्छौं।’ उनले लुम्बिनी आएका पर्यटकहरु एकै छिनमा फर्किएकाले अब यतातर्फ पर्यटक लैजान सकिने बताए ।
बज्रचार्यले लुम्बिनी नजिक गैडहवा फरेष्ट कम्लेक्स अवधारणा अघि सारेको बताए। गैडहवामा ताल, हरियाली बन जंगल रहेको भन्दै लुम्बिनी आएका पर्यटकलाई त्यो ठाउँमा आकर्षित गर्न सकिने उनको भनाइ छ। लुम्बिनीबाट केही पर रहेको गैडहवा बन क्षेत्रको शान्त स्थानमा धार्मिक पर्यटकको लागि ध्यान केन्द्र निर्माण गर्न सकिनुका साथै, तालको, चराचुरुगीं अवलोकन सहितको जंगल यात्रा गर्नु सकिने बज्रचार्यले बताए।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आँफूहरु वन संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा लागिरहेको बताए। उनले लुम्बिनी नजिकको गैडहवामा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गरे। 'चराचुरुंगी र बन्य जन्तु अवलोकन गर्न सकिन्छ। हामीले स्थानिय आर्गेनिक उत्पादन खुवाउन सक्छौं।’ पौडेलले भने ‘हामीले यसलाई प्रचार प्रसार गरेर ब्राण्ड बनाउन सकेका छैनौ। राष्ट्रिय संरक्षण तथा विकास केन्द्रले गरेको पहलले हामी आशावादी छौं।‘
लुम्बिनी भनेको पर्खाल भित्रको ठाउँ मात्र नभइ छिमेकी पालिकाहरुसँग पनि सहकार्य गर्न अध्यक्ष पौडेलले कोष र सरकारसँग आग्रह गरे। पर्यटन विज्ञ सुमित बरालले लुम्बिनीमा आएका मध्ये ७० प्रतिसत भन्दा बढि पर्यटक एकैछिनमा फर्किने गरेको तथ्यांक प्रस्तुत गरे।
उनले नजिकका गन्तव्यहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसार गरेर पर्यटकको बसाइ लम्ब्याउने योजना ल्याउनुपर्ने उल्लेख गरे। बरालले लुम्बिनीलाई इको टुरिजमसँग जोड्नुपर्ने भन्दै आसपासका ठाउँमा बन तथा चरा अवलोकन, होमस्टे र आग्र्यानिक खानाको प्रवद्र्धन गर्नुपर्ने बताए।
पर्यटन विज्ञ अनु लामाले ग्रामिण पर्यटनलाई स्थायिनको जिविकोपार्जनसँग जोडेर कसरी अघि बढाउन भन्ने बारेमा प्रस्तुतीकरण गरेकी थिइन्। उनले लुम्बिनीबाट आसपासका समुदायले पनि फाइदा पुग्ने गरि कार्यक्रम ल्याउनुपर्ने बताइन्।
रुपन्देहीका जिल्ला बन अधिकृत प्रविण भण्डारीले लुम्बिनीलाई प्रकृतिसँग जोडेर प्रवद्र्धन गर्न धेरै ढिला भइसकेको बताए। उनले सामुदायिक बनहरुमा पर्यटनको राम्रो सम्भावना रहेको ध्यान केन्द्र बनाउन सकिने बताए।
राष्ट्रिय संरक्षण तथा विकास केन्द्रकी कार्यक्रम अधिकृत सालिनी खरेलले सहभागीबाट प्राप्त सुझाहरुलाई ध्यान दिएर लुम्बिनीलाई संस्कृति र प्रकृतिसँग जोड्ने कार्यक्रम ल्याउने बताइन्। कार्यक्रममा जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, सरकारी अधिकारी, बौद्ध समुदाय, संरक्षणकर्मीहरुको सहभागीता थियो।


-1792055189.jpg)