
बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहर जनमत पार्टी प्रवेश गरेका छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले स्वागत गरेका हुन् ।
चौधरी सहित थारु कल्याणकारी एवं थरुहट सङ्घर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी प्रवेश गरेको जनमत पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले बताए। गत संसदीय निर्वाचनमा धनीरामले नाउपाबाट उम्मेदवार बनेर १३ हजार ९६२ मत प्राप्त गर्दै चौथो भएका थिए ।
अब जनमतले धनीरामलाई रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनाउनेगरी पार्टी प्रवेश गराएको जानकारी दिएको छ । प्रवेश गरेकाहरुलाई जनमत पार्टीका अध्यक्ष राउतले उचित जिम्मेवारी दिने र राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।