
बुटवल - नेकपा एकीकृत समाजवादीले रूपन्देहीले सोमबार बुटवलमा चौथो स्थापना दिवस मनाएको छ । पार्टी कार्यालयमा शूभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ ।
स्थापना दिवसमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले संविधानको रक्षा, कम्यूनिष्ट आन्दोलनमा देखिएको विचलनका कारण आफूहरु विद्रोह गर्नुपरेको स्मरण गर्दै स्थापनाको ४ बर्षमै पार्टीलाई संस्थागत बनाउन सकेको बताए।
उनले एमालेबाट विद्रोह गर्नुको कारण पछिल्ला दिनमा त्यस पार्टीभित्र देखिएको प्रवृत्तिले पुष्टि गरेको बताए ।
यादवले अहिले आम जनतामा चरम निराशा देखिएकाले अब कम्यूनिष्ट पार्टीहरुविच एकता जरुरी रहेको पनि बताए । उनले अब समाजवादमा नगईकन समसयाहरु समाधान नहुने समेत बताए ।
यस्तै शूभकामना आदान प्रदान कार्यक्रममा नेकपाका नेता शरद सिले नेपालका कम्युसनिगट पार्टीहरु सरकारमा गएपछि बदनाम भएको बताउँदै अब सच्चा कम्यूनिष्टहरुको एकता जरुरी रहेको बताए । उनले व्यवस्थासँगै जनताको अवस्था जोडिने बताउँदै अब समाजवादी मोर्चा मार्फत आन्दोलनदेखि निर्वाचनसम्म एक भएर जानुपर्ने बताए ।
यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका उपाध्यक्ष कमल भण्डारीले वर्तमान समयमा देखिएको समस्या समाधानका लागि समाजवादी व्यवस्थामा जानुपर्ने बताए । उनले चार वर्षको अवधिमा नेपालको राजनीति र संविधानलाई सहि बाटोमा हिडाउन सफल भएको भन्दै विद्रोहको औचित्य पुष्टि भएको बताए ।
यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष अविराम विकले दलाल पूँजीवादी चरित्रले समाजमा विभिन्न समस्याहरु देखा परेको बताउँदै यसको समाधान पार्टीको १० औं महाधिवेशनले पारित गरेको कार्यक्रमले दिएको बताए । उनले नेपाली बिशेषताको समाजवादमा जाने पार्टीको नीति नै अबको राजनीतिक सामाजिक समस्याको हल रहेको बताए ।
कार्यक्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका विक्रम नेपाली, पार्टीका सचिव टंक पोख्रेल, उपसचिव बाबुराम अर्याल लगायतले बोल्दै पार्टी स्थापनाको शूभकामना दिएका थिए । तत्कालीन नेकपा एमालेमा नेपालसहितका नेताहरुको असन्तुष्ट बनेपछि २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादीको स्थापना भएको थियो ।