
बुटवल- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् ।
उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।
सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए ।
यी कुराहरु नबदलिदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरु फसेको उनले टिप्पणी गरे । भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए ।
‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने –‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब धु्रविकरण जरुरी छ ।’ उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पिडामा रहेको बताए ।
उनले वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए ।
परिस्थिती धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए । उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए ।
‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’ उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’ उनले क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अस्थामा आएको बताए ।
माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए ।
‘मूलभूतरुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो वाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ’ भुसाले भने ।
उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए ।
‘तीन जना मिलेर अलग पार्टी बनाउने होईन, अर्को पार्टी बन्दैन’भुसालले भने–‘हामीले सहि सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभिायनमा छौं ।’
उनले उनले समाजमा उकुसमुकुस तिव्र रुपमा रहेकाले विमर्श जरुरी रहेको बताए । उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्मा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए ।
उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएकोे बताउँदै बुटवलमा आएपछि यसले गती लिने विश्वास व्यक्त गरे । ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्यूनिष्ट आन्दोलनमा चिन्तितहरुले माथिदेखि वार्डसम्म बहस गरौं’ भुसालले भने ।