Lumbini Rise
कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक  :जनार्दन

बुटवल- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक रहेको बताएका छन् । उनले अहिलेका कम्यूनिष्ट पार्टीहरुले जनताको मुद्धा नउठाएकाले अब वाम पार्टीहरुविच पुनर्गठन हुनुपर्ने आवश्यकता औल्याए ।

 सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरु जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको बताए ।

‘दलहरु जनताका मुद्धामा स्पष्ट भएनन्, नीतिहरु प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए’ उनले भने –‘दलहरुमा लोकतन्त्र पनि छैन, गरिबि बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’

 शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरुको टिम बनाउन नसकेको बताए ।

दलहरुमा सुशासनर पारदर्शिता पनि नभएको,चुनौति सामना गर्ने क्षमता पनि नभएको शर्माले बताए । कम्युनिष्ट पार्टीको पुनर्गठन संगै आर्थिक प्रणाली पनि पुनःसंरचना गर्न अपरिहार्य भएको उपमहासचिव शर्माको भनाई छ । 

लोकतन्त्र जनताको भएन, दलाल पुंजिवादकी र भ्रष्टहरुको भयो’–शर्माले भने–‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्,खेतहरु बांझो छन्,वनजंगल,प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन,यी साधनमाथि दलाल पुंजिवादीको कब्जा छ ।’

मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पुंजिवादले कब्जा गरेको शर्माको आरोप छ ।  नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागेपनि विघटनपछि निराशाको श्रृंखला शुरु भएको टिप्पणी गरे । कम्युनिष्ट नेताहरुले लोकतन्त्र र समाजवादको भाषण गरेपनि व्यवहार ठीक उल्टो भएको बताए ।

‘किसानले मल,बिउ,सिंचाई, उचित मूल्य र बजार पाएका छैनन्,शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन’–शर्माले भने–‘दलाल पुंजिवादले सबैतिर कब्जा गरेको छ,मुलुक भ्रष्टाचारमुक्त छैन,संविधान पनि पूर्ण कार्यान्वयन भएन ।’

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update