Lumbini Rise
भ्रष्टाचारकै कारण जनता निराश भए, अब बहस गरौं : विप्लव

 

बुटवल-  नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो बताएका हुन् ।

‘हामीले रमेश लेखकलाई कांग्रेसभित्रको बुद्धिजिवी ठानेका थियौं, तर उहांमाथि नै दैनिक ५० लाखसम्म घुस बुझाएको उहांकै कर्मचारीले आरोप लगाएको देखियो नि’–विप्लवले भने–‘यस्तै घुस र भ्रष्टाचारका घटनाहरु अन्य धेरै क्षेत्रमा भएका छन् बाहिर आइरहेका पनि छन् ।’

उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठले न्यायलयमा पैसाविना केही नहुने भनेर दिएको अभिव्यक्तिले देशको अवस्था झल्काएको बताए । उनले मुलुकमा देखिएको वर्तमान समस्या दलाल पूजीँवादी संरचना भएको बताए । उनले नेपाली राजनीति गणतन्त्र प्राप्तीपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुंगोमा नपुग्दा आएको बताए ।

उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुर्नगठन जरुरी रहेको बताए । उनले नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमान्दार कम्यूनिष्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए । ‘आजको संकटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु हो’ उनले भने ।

उनले वर्तमान संकटबाट समाधान गर्नका लागि आफूहरुले एउटा बहसको थालनी गरेको बताए । उनले आफू सहित तीन जनाले काठमाडौंमा बहस गरेपछि देशभर तरंग पैदा गरेको बताउँदै बुटवलको यो छलफललाई पनि चासोका साथ हेरिएको बताए । ‘यो बहस के हो ? नयाँ पार्टी बनाउने हो की ? भनेर जिज्ञासा राखेको पाईन्छ’ महासचिव विप्लवले भने–‘यो यति हो भनेर भन्न सकिदैन, ८–१० वटा अन्तरक्रियापछि सकिन पनि सक्छ।’

उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सृजना भएको बताए । उनले नेपालको कम्यूनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्नका लागि आफूहरुले छलफलको सुरुवात गरेको बताए ।

उनले एकता, उज्यालो र श्रमिक जनताको चाहनाको बाटो पहिल्याउने अन्तरक्रिया भएको बताए । उनले नेपाली बिशेषताको समाजवाद आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update