
बुटवल– रुपन्देहीको निर्वाचन क्षेत्र न.–३ को कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ जना आकांक्षीविच भएको प्रारम्भिक निर्वाचनमा १५९४ मत खसेको छ ।
बिहीबारदेखि सुरु भएको प्राइमरी इलेक्सन शुक्रबार सांझ ७ बजे सकिएको हो। केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको रास्वपाले जनाएको छ ।
६२ जना केन्द्रीय समिति सदस्यहरू मध्येबाट २७ मत खसेको पार्टी सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले बताए । प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत मोबाइलबाटै अनलाइन भोटिङ गर्न सकिने व्यवस्था गरेको थियो । उम्मेदवार छनोट विधि अन्तर्गत प्राइमरी इलेक्सनमा पाउने मतको अंक भार सबैभन्दा धेरै ५० रहेको छ । छ । खसेका मतहरूको परीक्षणपछि निर्वाचन आयोगले जानकारी दिने उनले बताए ।
रास्वपाले साउन ७ देखि २१ सम्म उम्मेदवार बन्न आवदेन माग गरेको थियो । जसमा केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही ३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल,भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् ।
प्राइमरी इलेक्सनमा धेरै अन्तरले बढी भोट पाउने आकांक्षी नै उम्मेदवार बन्न सक्ने सम्भावना छ । यसअघि पार्टीले २० अंक भार रहेको पोलिटिकल प्रोक्सिमिटी र २५ अंकभार रहेको लिडरसिप एकेडेमीको लागि आकांक्षीहरूबीच विभिन्न गतिविधि गराएर मूल्याङ्कन गरिसकेको छ ।
१०० अंकमध्ये ५ अंक समावेशितालाई छुट्याइएको छ । यो अंक महिला, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक र पछाडि पारिएको समुदायका आकांक्षीले मात्र पाउँछन् । रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यतले मतदान गरेका हुन् ।
प्राइमरी इलेक्सन, पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको मूल्यांकनबाट प्राप्त अंक र समावेशिताको अंक कम्पाइल गरी भदौ १५ गते सबैभन्दा बढी अंक पाउने एकजनालाई उम्मेदवार घोषणा गरिने सहमहामन्त्री आचार्यले बताए ।