
बुटवल– रुपन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार विहान ९:३० बजेदेखि लागू हुने गरी पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, धर्ना, प्रदर्शन वा अन्य कुनै पनि सामूहिक विरोध गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ (संशोधित) को दफा ६ को उपदफा ३(क) बमोजिम जारी गरिएको आदेशमा, निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको कार्यान्वयनमा अवरोध पुर्याउने जो कोहीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
प्रशासनका अनुसार पछिल्ला दिनमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका घटनाले शान्ति सुरक्षा प्रभावित हुन सक्ने आकलन भएकाले यस्तो कदम चालिएको हो।
यसअघि सोमबार बुटवल र भैरहवामा अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको थियो।