
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’
उनले कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान भएको बताए । ‘अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्तत प्रतिगमनलाई नै फाइदा पुर्याउने छ’ उनले भनेका छन् ।
प्रचण्डले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताए । ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ’ उनले भनेका छन् ।
जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उनको आरोप छ ।‘सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो’ प्रचण्डले भने ।
केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको प्रचण्डले स्मरण गराएका छन् ।
सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरे पनि कुशासनका शृङ्खला जारी नै रहेको कारण जनतामा वितृष्णा फैलिएको उनको आरोप छ।