Lumbini Rise
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण 

 

बुटवल –  जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

चितवन कारागारबाट भागेका भारतको हरियाणाका सवारी अङ्गभङ्ग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान, भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी, भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यपलाई रुपन्देही प्रहरीले नियन्त्रण गरेको छ । 

यी चारै जनालाई भारतीय एसएसबीले भारत पस्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार नवलपरासी कारागारबाट भागेका रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना, केन्द्रीय कारागार काठमाडौँबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा मुवम्बाइ र तान्जानियाकै कोकिन मुद्दाका कैदी ४७ वर्षीय तालिब किपिभू रहेको कार्कीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले बताउनुभयो । आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी नेपाल र भारतको सीमा हुदै भारतमा भाग्न सक्ने भएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ ।

मुख्य नाकामा मात्र नभई भारत पस्न सक्ने सम्भावित स–साना नाकामा पनि निगरानी बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यस बाहेक भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको यनले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update