Lumbini Rise
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम

बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ ।

गौतमको ८३ बर्षको उमेरमा बुटवल ३ ज्योतिनगर स्थित निवासमा मंगलबार निधन भएको हो । पाल्पा तानसेनमा १९९९ साल असार १० गते जन्मिएका गौतम कलाकारितासँगै बुटवलमा २०३० सालदेखि सिलाई व्यवसाय शुरु गरेका थिए ।

तत्तकालिन समयमा मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम, बुद्धि बहादुर थकालीसँगै साँस्कृतिक अभियानमा सामेल भई राजनीतिक परिवर्तनमा लागेका थिए । पूर्व सांसद विनोद पहाडीले गौतम वामपन्थी साँस्कृतिक आन्दोलनकाे याेद्वाकाे निधन भएकाे बताए । उनले एक कुशल कलाकारसंगै दलित आन्दोलनमा पञ्चायतकालिन समयदेखि लागेको पात्र मुलुकले गुमाएकाे बताए । ‘कलाकारिता मार्फत समाज रुपान्तरणमा उहाँ (गौतम) को बिशिष्ट योगदान छ, तर पछिल्लो पुस्ताका माझमा त्यो योगदान परिचित बनाउन सकिएन’ पहाडीले भने ।

नृत्य निर्देशक, तबला बाधक तथा गितकार समेत रहेका गौतमको प्रतिभा रेकर्डिङ नहुदा दस्तावेजीकरण हुन नसकेको उनले बताए ।

२०२७ सालदेखि २०४० सालसम्म साविकको लुम्बिनी अञ्चलमा चर्चित रेलिमाई साँस्कृतिक अभियान चर्चित रहेको उनका समकालिनहरु बताउँछन् । गौतम पञ्चायतकालमा तानसेनमै रहदा गित लेख्ने,गाउने, नाटकहरुमा अभिनय गर्थे ।

पञ्चायतविरोधी अभियानमा तमसुक जस्ता अभिनय मार्फत समाज रुपान्तरणको अभियानमा सरिक भएको गौतमका छोरा पर्ने तथा दलित अभियान्ता तीर्थ गौतमले बताए । २०२७ सालतिर पाल्पा तानसेनमा जातीय छुवाछुत विरुद्धको अभियान एपोलो ११ नामक फुटबल क्लब गठन गरेर सुरुवात गरेको उनले स्मरण गरे । ‘घरभित्र पस्न र छुन दिईँदैनथ्यो ।

मिलन वुवाले गैदरलितहरुसँग खुट्टा छोएको फुटबलमार्फत छुन सकिन्छ भनेर नयाँ सोँचका साथ एपोलो ११ फुटबल क्लब गठन गर्नुभएको थियो’ तीर्थले विगत सम्झँदै भने –‘त्यो सोँच वास्तवमा रचनात्मक र अर्थपूर्ण आन्दोलन थियो ।’ गौतमले पाल्पा तानसेनमा नेवार समुदायसँग दलितहरुले प्रतिस्पर्धा गर्ने गरी छोकडा नृत्यको समेत सुरुवात गराएका थिए ।

यस्तै तानसेनमा गाईजात्राका अवसरमा चटके बन्नेदेखि तत्तकालिन शासकका विरुद्ध विभिन्न अभिनय मार्फत व्यङग्य गर्ने गरेको जेठो छोरा अनिल गौतमले बताए । तानसेनबाट २०३० सालमा बुटवल झरेर गौतमले मिलन टेलर्स सञ्चालन गरेका हुन् ।

बिशेष गरी उनी दौरा सुरुवाल सिलाउनमा यस क्षेत्रमै परिचित थिए । २०५४ सालअघि गठन भएको उजाउ मञ्चको साँस्कृतिक फाँटमा रहेर पूर्वमन्त्री छविलाल विश्वकर्मा, पदमलाल विश्वकर्मा, विनोद पहाडी लगायतका नेताहरुसँगै काम गरेका थिए ।

२०४६ सालमा बुटवलमा परियार सेवा समिति नामक संस्था गठन गरी परियारहरुलाई एकताबद्ध बनाउने काममा समेत गौतमको योगदान रहेको छ ।

लामो समयसम्म दम रोगका कारण ग्रसित गौतम पछिल्लो समय पेटको क्यान्सरबाट पिडित भएका थिए। गौतमको मंगलबार बुटवल मैनाबगर स्थित घाटमा हिन्दुसंस्कार अनुसार अन्त्येष्टि गरिएको व्यवसायी समेत रहेका परिवारका सदस्य सारोज गौतमले बताए ।

अत्येष्टिमा बुटवल क्षेत्रका सामाजिक अगुवाहरुसँगै व्यवसायी र आफन्तहरुको सहभागिता रहेको थियो । गौतमको श्रीमती, तीन छोरा र चार छोरी छन् । तीन छोरामध्ये माईलो छोराको निधन भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update