वुटवल- साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक 'उनले छोडेको उज्यालो' सोमबार सार्वजनिक भएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रममा आचार्यका पिता कृष्णलाल आचार्यले सो पुस्तक विमोचन गरेका हुन् ।
भावनात्मक र अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा-बुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको हो ।
यसअघि सपना आचार्यको पहिलो उपन्यास 'मलिलो माटो' २०७८ सालमा प्रकाशित भएको थियो ।
सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उपन्यासपछि 'उनले छोडेको उज्यालो'मार्फत आचार्यले झन् व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन् ।
'उनले छोडेको उज्यालो' मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरणको कथा हो । कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमाछोरीबीचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ ।
आमा भौतिक रूपमा नहुँदा पनि उनले छोडेको संस्कार, ममता र मूल्यबोध कसरी सन्तानको जीवनमा उज्यालो बनेर रहिरहन्छ भन्ने पक्ष कृतिको केन्द्रमा छ।
पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ । घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग जोडिन पुग्छ । शोकको अध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको मुख्य विशेषता हो ।
आमाको स्मृतिलाई केवल विगतको पीडाका रूपमा होइन, जीवनलाई अघि बढाउने शक्ति र प्रेरणाका रूपमा प्रस्तुत गर्नु कृतिको उल्लेखनीय पक्ष मान्न सकिन्छ ।
सुन्दर कभरमा प्रकाशित भएको उपन्यास सोमबारदेखि बजारमा उपलब्ध छ भने पुस्तकको मूल्य ५३३ रुपैयाँ राखिएको छ ।


