Lumbini Rise
पाेखरामा पूर्वमन्त्री, पर्यटन व्यवसायी रास्वपा प्रवेश

पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको छ । पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षका नेताहरुको भने उपस्थिती रहेन । 

कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायत नेता सहभागी थिए । कांग्रेस नेता कुमार खड्का बाजागाजासहित सयौं जना लिएर रास्वपा प्रवेश गरे । एमाले नेता एवं रूपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी, कांग्रेस निकट व्यवसायी मिलन थापा, सगरमाथामा हेलिकप्टरबाट उद्धार गरेर चर्चा कमाएका पाइलट मदन केसी लगायत रास्वपा प्रवेश गरे ।

उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङले रास्वपाको कार्यक्रममा सहभागी हुनेबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएकाले शनिबारको कार्यक्रममा उपस्थित नभएको बताए । 

गण्डकीमा कास्की, तनहुँ र नवलपुरमा जिल्ला समिति गठन भइसकेको र स्याङ्जा, गोरखा र लमजुङमा घोषणाको तयारी गर्दै गर्दा पार्टी एकताको कुरा आएकाले अहिले रोकिएको उनले सुनाए 

कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेले अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य प्रतिनिधिसभामा १ सय ५१ सिट ल्याउनु रहेको बताए । उनले अबको १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउन अहिलेकै चुनावमा स्पष्ट बहुमत ल्याउनुपर्ने उल्लेख गरे ।

काे-काे प्रवेश गरे

गतमा अखण्ड नेपाल हुँदै खड्का पछिल्लो समय कांग्रेस प्रवेश गरेका थिए। गत २०७९ सालको चुनावमा आफ्नै पार्टी कांग्रेस उम्मेदवार हराउन भूमिका खुलेको आरोपमा कांग्रेसले निष्कासन समेत गरेको थियो।

बिन्दुकुमार थापालाई प्रदेशसभा सदस्यको टिकट दिइएपछि बिच्किएका उनी थापालाई हराउन भूमिका खेलेको आरोपमा कांग्रेसले केही महिनाअघि निष्कासन गरेर कारबाही गरेको थियो।

उनी अखण्ड नेपाल पार्टीमा रहँदा संघमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए। यस्तै, गण्डकी प्रदेशसभामा उनी भौतिक, पूर्वाधार मन्त्री बनेका थिए।

यसैगरी, रास्वपा प्रवेश गर्नेमा पर्यटन व्यवसायीसमेत रहेका एमाले नेता पुष्प अधिकारी हुन्। उनी कास्कीको रुपाकोटस्थित चल्तीको रुपाकोट रिसोर्टका संचालक हुन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालकी अध्यक्ष मिलन थापा पनि कांग्रेस छाडेर रास्वपा गएकी छन्। उनी गण्डकी सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाकै बुहारी हुन्। मिलनका पति अटो व्यवसायी ध्रुव थापा हुन्। 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update