बुटवल - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिउकै मितिमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । केहीदिनदेखि रुपन्देहीमा रहेका उपाध्यक्ष पौडेलले शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तोकेको मितिमा नै निर्वाचन गर्ने वातावरण बनाउन नसकेको बताएका हुन् ।
उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार गम्भीर नभएको समेत बताए । एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले प्रतिस्पर्धा गर्ने वातावरण सुनिश्चित हुनुपर्ने उनको भनाई छ ।
उपाध्यक्ष पौडेलले निर्वाचनको तयारीलाई तीव्रता दिन र यससँग जोडिएका यावत कामहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन सरकारलाई सचेत गराए। सरकारको अहिलेको कार्यशैलीले तोकिएकै समयमा चुनाव हुनेमा आशङ्का उब्जाएको उनको भनाइ छ।
पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ बाट २०७९ सालमा निर्वाचित निर्वतमान सांसद वासुदेव घिमिरेले पार्टी छाडेर रास्वपा जाने चर्चासँगै यहाँ आएका हुन् । पौडेलले कार्यकर्ताहरुसँग भेटघाट गर्दै शनिबार खस्यौली बजारको समेत अवलोकन गरेका थिए ।

