बुटवल- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशमा तीन नेतालाई अघि सारेको छ ।
बुधबार तीन पदका लागि मनोनयन दर्ता हुँदैछ । कांग्रेसबाट गुल्मीका चन्द्र केसी र दाङका वासुदेव जंगली घिमिरे तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार बन्ने निश्चित भएको हो ।
केसी खुला, घिमिरे अपांगता र झाँक्री महिला कोटामा उम्मेदवार बन्नेछन् । एमाले, कांग्रेस र नेकपाले तालमेल गर्ने भनिए पनि अन्तिम समयमा नेकपा गठबन्धबाट बाहिरिएपछि लुम्बिनीमा दुई सीटमा कांग्रेस र एक सीटमा एमालेले उम्मेदवार उठाउने भएको हो ।
निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने पदका लागि चुनाव गराउन लागेको हो । लुम्बिनी प्रदेशबाट तीनजना सदस्यका लागि निर्वाचन हुँदैछ ।
लुम्बिनीमा ३०५ मतदाता रहेका छन्, जसमध्ये प्रदेश सभाका ८७ जनाको ४ हजार ६११ र १०९ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २१८ जनाको ४ हजार १४२ गरी कूल मतभार ८ हजार ७५३ रहेको छ ।
‘लुम्बिनीमा तीन पदका लागि चुनाव हुनेछ’, उनले भने, ‘खुला, महिला र अपांगता क्षेत्रमा १/१ पदका लागि चुनाव हुन लागेको हो ।’
लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

