बुटवल– साविक नेकपा माओवादी केन्द्रमा आबद्ध तथा बुटवल उपमहानगरपालिका वडा न. ३ का वडाअध्यक्ष विष्णु ढकाल सहितका नेताहरुले नेपाली कम्युनिष्ट पार्टीमा नरहेको घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका कम्यूनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले परित्याग गरेको घोषणा गरेको जनाएका छन् ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै साविक नेकपा माओवादी रुपन्देही सदस्य तथ अखिल नेपाल खेलकुद महासंघ लुम्बिनि प्रदेश अध्यक्ष ढकाल सहितले पार्टी छाडेका हुन् । त्यसरी पार्टी छाड्नेहरुमा नगर सचिवालय सदस्य जितेन्द्र खत्री, जिल्ला सदस्य लोक बहादुर नेपाली, नगर सचिवालय सदस्य नारायण गौतम, प्रदेश प्रतिनिधि शोभाखर पाण्डे ‘माधव’, जग बहादुर श्रेष्ठ, राजकुमार पाण्डे रहेका छन् ।
‘हामीले आफ्नो व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्कनपछि लिएका हौं। यो निर्णय कुनै व्यक्ति विशेषप्रति व्यक्तिगत असन्तुष्टिका कारण नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा गरिएको हो’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।
पार्टीले हालसम्मकाे परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकाे तर अब नयाँ ढंगले जानुपर्नेमा त्यसाे नभएकाले स्वेच्छाले पार्टी छाडेको बुटवल वडा न. ३ का वडाअध्यक्ष समेत रहेका ढकाललले बताए । उनले अहिले तत्काल कुनै पार्टीमा नगएको बताउँदै छलफल गरेर निर्णय गर्ने बताए ।
-1768309800.jpg)

