बुटवल - नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको हो ।
एमालेभित्र प्रभावशाली र स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा चिनिने घिमिरेले यसअघि घिमिरेले पार्टीबाट विद्रोहको तयारी गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्कमा पुगेको र रास्वपाबाटै चुनाव लड्ने करिब निश्चित भइसकेको चर्चा रुपन्देहीको राजनीतिक वृत्तमा व्याप्त थियो। उनले सामाजिक सञ्जालबाटै एमालेको कुनै जिम्मेवारीमा नरहेको समेत बताएका थिए ।
तर घिमिरे जस्तो बलियो र जनमत भएका नेताले पार्टी छाड्दा रुपन्देहीमा एमालेको चुनावी गणित बिग्रनसक्ने आँकलनका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले विशेष सक्रियता देखाएका थिए।
स्रोतका अनुसार उपाध्यक्ष पौडेलले घिमिरेसँग सघन संवाद गर्दै उनलाई पार्टीमै सुरक्षित राख्न र टिकट दिलाउन मुख्य भूमिका खेलेका थिए । सोहीअनुसार उनी पार्टीमा रोकिएकामा अहिले टिकट पाएका हुन् ।
उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार रुपन्देही-३ मा घिमिरे र रुपन्देही-५ मा खिमलाल भट्टराईको नाम तय भएको छ।

