बुटवल– रुपन्देहीमा नेकपा एमालेले सबै उम्मेदवारको टुंगो लगाएको छ। रुपन्देही २ बाट लगातार चार वटा निर्वाचन जितेका विष्णु पौडेलको निर्णयमा पुर्नविचार गर्दै उम्मेद्वार टुग्याएको हो । पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णयबाट पछि हट्दै पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाउने निर्णय गरेसँगै रुपन्देहीका ५ वटै निर्वाचनमा एमालेले उम्मेद्वार टुग्याएको हो ।
एमालेले आइतबार पाल्पा २ मा पौडेललाई पठाउने निर्णय फिर्ता लिँदै रुपन्देही २ मा टिकट दिएको एमाले नेता खिमलाल भट्टराईले बताए । योसँगै रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ। रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता ठठेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा टिकट पाएका न्यौपाने अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य थिए भने पौडेल पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष हुन्। निर्वाचन क्षेत्र न. १ बाट दुई पटक निर्वाचन जितेका पार्टी सचिव समेत रहेका छविलाल विश्वकर्माको भने टिकट खोसिएको छ ।
यस्तै घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए। उनले रुपन्देही ५ बाट प्रत्यक्षमा निर्वाचन जितेका थिए। रुपन्देही ४ मा टिकट पाएकी ठठेर यसअघिको प्रदेश सभा सदस्यमा समानुपातिकबाट सांसद थिइन् भने ५ मा टिकट पाएका भट्टराई राष्ट्रिय सभा सदस्य थिए।

