Lumbini Rise
रुपन्देहीका ५ मध्ये ३ क्षेत्रमा कांग्रेसका नयाँ अनुहार

बुटवल - नेपाली कांग्रेसले रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दुई वटा निर्वाचन क्षेत्रमा भने पुरानै अनुहारलाई फेरि मौका दिइएको हो ।

 

 

 

कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हिराबहादुर खत्री, क्षेत्र नम्बर २ मा चुन्नु पौडेल, क्षेत्र नम्बर ३ मा सुशील गुरुङ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ मा प्रमोद यादव र क्षेत्र नम्बर ५ मा भरत शाहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । यादव र शाह पटक–पटक संसदीय निर्वाचन लडेका नेता हुन् ।

क्षेत्र नम्बर १ मा कांग्रेसका खत्रीले एमालेका दधिराम खरेल र रास्वपाका सुनिल लम्सालसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । क्षेत्र नम्बर २ मा कांग्रेसका पौडेलले एमालेका उपाध्यक्षसमेत रहेका विष्णु प्रसाद पौडेल र रास्वपाका सुलभ खरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

क्षेत्र नम्बर ३ मा सुशील गुरुङले एमालेका वासुदेव घिमिरे र रास्वपाका डा लेखजंग थापासँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

क्षेत्र नम्बर ४ मा प्रमोद यादवले लोसपा छाडेर हालै रास्वपामा प्रवेशसँगै टिकट पाएका कन्हैया यादवसँग र जनमत पार्टीका भूपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । क्षेत्र नम्बर ५ मा भरत शाहले एमालेका खिमलाल भट्टराईसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update