बुटवल– पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय ५९ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको थियो । निर्वाचन अधिकृत कार्यालयहरुले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले समेत उल्लेख्य रुपमा मनोनयन गरेका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार यहाँ ३२ जनाको उम्मेदवारी परेको छ । यसमध्ये २० जना दलका उम्मेदवार हुन् भने १२ जना स्वतन्त्र छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यहाँ दलबाट २१ र स्वतन्त्र २० जनाले मनोनयन दर्ता गरेको उनले जनाए ।
क्षेत्र नम्बर ३ मा ३६ जनाले मनोनयन दर्ता गरेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले यहाँ दलका १९ र स्वतन्त्र १७ जनाले उम्मेदवारी दिएको पब्लिक कुरालाई जानकारी दिए ।
क्षेत्र नम्बर ४ मा २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए । उनका अनुसार यहाँ दलबाट १५ र स्वतन्त्र ७ जनाको मनोनयन दर्ता भएको छ ।
क्षेत्र नम्बर पाँचमा २८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत गोपिकृष्ण रेग्मीका अनुसार दलबाट १९ र ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

