बुटवल-राष्ट्रिय जनमोर्चाले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित २५ बुँदे घोषणापत्र जारी गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास नीतिसहितको घोषणापत्र सार्वजनिक गरेको छ ।
अहिले विकासका कार्यक्रम मुख्यतः ठूला शहर र विकसित क्षेत्रमा केन्द्रित हुने गरेको बताउँदै जनमोर्चाले क्षेत्रीय सन्तुलन सहितको विकेन्द्रित र सन्तुलित विकासको नीति अगाडि सारेको छ ।
विकास दृष्टिकोणले पछाडि परेका जिल्ला र दुर्गम स्थानको विकासमा विशेष प्राथमिकता दिइने घोषणापत्रमा उल्लेख गरेको छ । प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुक्ति अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, द्वन्द्वपीडितलाई न्याय र राहत, बौद्धिक पलायनमाथि रोक, पहाडबाट बसाइँसराइ न्यूनीकरण, दुर्गम गाउँमा सुपथ मूल्य पसल, बौद्धिक पलायन रोक्ने पार्टीले प्रतिबद्वतामा उल्लेख गरेको छ ।
त्यसैगरी, खाद्य सुरक्षा, कारागारको अवस्थामा सुधार, एकीकृत नमूना बस्ती, ग्रामीण विकास मानव अधिकारको पूर्ण पालना, जेष्ठ नागरिकको स्वास्थ्यको पूर्ण जिम्मा, मजदुरको हकहित र रोजगारीको व्यवस्था, खेलकुद शिक्षा र सामाजिक सुरक्षाको नीति अपनाइने घोषणापत्रमा समावेश गरेको छ ।
निर्वाचनमा केही ठाउँमा अपवादबाहेक अन्य राजनीतिक पार्टीसँग एकता गरेर जाने पार्टीको नीति नभएको अध्यक्ष केसीले स्पष्ट पारे । २१ फागुनमा हुने निर्वाचनमा जनमोर्चाले ४२ जिल्लामा ७० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । त्यस्तै, समानुपातिकतर्फ ११० जना उम्मेदवार छन् ।
संघीयताको खारेजी गरी गणतन्त्र र राष्ट्रियतामाथि आएको संकटका विरुद्ध एकजुट हुनुपर्ने समय आएको केसीको भनाइ छ ।
राजनीतिक पार्टीका गल्तीले भदौ २३ र २४ गतेको घटना घटेको बताउँदै केसीले अब जनतामाझ क्षमा मागेर देशमा आइपरेको संकट टार्न एकजुट हुनुपर्ने समय आएको बताए ।
जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अहिले चुनावमा नयाँ र पुरानाको भाष्य सृजना गरिएको बताउँदै त्यसमा कस्तो काम गर्नेलाई नयाँ भन्नेबारे होस पुर्याउन आवश्यक रहेको बताइन् ।

