Lumbini Rise
भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले

कैलाली -  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले पछिल्लो समय राजनीतिक भेटघाटसँगै सामाजिक तथा पारिवारिक सम्बन्ध विस्तारमा समेत सक्रिय देखिनु भएको छ । जनतासँगको आत्मीय सम्बन्धलाई प्राथमिकतामा राख्दै उहाँ कैलाली जिल्लाका विभिन्न स्थानमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आउनु भएको छ।

जेन–जी युवादेखि ज्येष्ठ नागरिकसम्म माझ लोकप्रिय छवि बनाउन सफल नेता आले हाल कैलाली निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका गाउँ–बस्ती तथा टोलटोलमा पुगेर जनताको सुख–दुःख बुझ्ने, उनीहरूका समस्या सुन्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने कार्यमा व्यस्त रहनु भएको छ । उहाँको यो सक्रियताले स्थानीय बासिन्दामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पूर्वमन्त्री आले र धनगढी उपमहानगरपालिका–११ निवासी समाजसेवी तथा बुद्धिजीवी राजेन्द्र रानाबीच आज पारिवारिक मित्रताको सम्बन्ध स्थापना भएको छ । दुबै जनाबीच आपसी सहमतिमा मित्रता स्वरूप मितेरी गास्दै पारिवारिक नाता कायम गरिएको हो ।

स्थानीय स्तरमा आयोजित एक सादा कार्यक्रममा दुबै पक्षले मितेरी गासेर आपसी विश्वास, सद्भाव र सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भएको बताइएको छ । सामाजिक एकता र आपसी सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ यो सम्बन्ध स्थापित गरिएको जनाइएको छ ।

विगतदेखि नै विपन्न, पीडित तथा दुःखमा परेका नागरिकहरूलाई उपचार सहयोग, आर्थिक सहायता तथा अन्य सामाजिक सहयोग गर्दै आउनु भएका नेता आलेलाई स्थानीयले “सुख–दुःखका साथी” का रूपमा लिने गरेका छन् । उहाँको यही व्यवहार र जनतासँगको आत्मीय सम्बन्धले राजनीतिकभन्दा पनि सामाजिक अगुवाको छवि निर्माण भएको स्थानीयको भनाइ छ ।

नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया भएको बताउँदै आउनु भएको छ । उहाँले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

स्थानीयवासीहरूका अनुसार यस्ता सामाजिक तथा पारिवारिक सम्बन्धले राजनीतिक वातावरणलाई समेत सकारात्मक बनाउने र जनप्रतिनिधि तथा जनताबीचको दूरी कम गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update