बुटवल- आसन्न प्रतिनीधि सभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेलले भेटघाटलाई तिव्रता दिएका छन् । बुधबार उम्मेद्वार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेद्वारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।
उद्योगपतीलाई साथ दिँदा यस क्षेत्रको औद्योगिक विकासको समेत ढोका खुल्ने विश्वास व्यक्त गर्दै पूर्वआप्रवासीहरुले आफूहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पौडेलसंग भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
पूर्वआप्रवासीहरूको योगदान र एकताले काँग्रेसको लोकतान्त्रिक आन्दोलन अझ सशक्त बनेको उनीहरूको भनाइ थियो । कार्यक्रममा बोल्दै रुपन्देही २ का प्रतिनीधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद पौडेलले समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाली काँग्रेसको जित अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
काँग्रेसका प्रतिनिधिहरू विजयी भए मात्र लोकतान्त्रिक मूल्य, स्थायित्व र विकासको बाटो खुल्ने उहाँको भनाइ थियो । ‘आम नेपाली जनतामा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा प्रधानमन्त्री भएको देख्ने चाहना छ, त्यसका लागि काँग्रेस उम्मद्वारलाई जिताउन आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशको मुहार बदल्न सक्छ भन्ने हाम्रो पनि विश्वास हो ।’ देशमा बढ्दो युवा पलायन गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने, विकासका गतिविधिलाई थप गति दिने र अर्थतन्त्र चलायमान बनाउने आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
काँग्रेसमा नयाँ ऊर्जाका साथ युवापुस्ताको प्रवेश भएको उल्लेख गर्दै उहाँले त्यसलाई संस्थागत गर्न मतदाताको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । पूर्वआप्रवासीहरूको अनुभव, सीप र योगदान राष्ट्र निर्माणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले उनीहरूको साथ र सहयोग निरन्तर आवश्यक रहने बताउनुभयो ।
साथै, जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले काँग्रेसले अगाडी सारेका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल इमान, प्रतिष्ठा र समाजप्रतिको निष्ठा कायम राख्दै यस क्षेत्रको औद्योगिक विकासमा योगदान गर्नुको साथै निरन्तर समाजसेवामा रहनुभएको उल्लेख गर्नुभयो । ‘उहाँमा सरल स्वभाव छ, नैतिकवान र विकासप्रेमी नेता हुनुहुन्छ । उहाँले समाजका हरेक वर्गका समस्या बुझेर समाधानको दिशामा काम गर्दै आउनुभएको छ’ गिरीले भन्नुभयो ।
कार्यक्रममा पूर्व आप्रवासी समन्वय विभागको ऐतिहासिक योगदानको समेत चर्चा गरिएको थियो । नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभागका केन्द्रीय सदस्य यदुनाथ पाण्डे, प्रदेश अध्यक्ष माधव भुसाल लगायतले भनाई काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई आफूहरुको बलियो साथ रहने बताउँदै उहाँले जित्ने माहौल निर्माणमा समेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

