Lumbini Rise
रूपन्देहीमा रवि लामिछानेलाइ भेटन भिड

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।

लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरे । उनले भने, ‘रास्वपाले एक से एक उम्मेदवारहरूलाई लिएर आएको छ । क्षमतावान साथीहरूले टिकट पाउनुभएको छ। देशले नचिने पनि हाम्रा उम्मेदावरले देशालाई चिनेका छन्। अघिल्लाेपटक २१ जना सांसदले संसद हल्लाएका हुन्। यसपटक नेपालको संसदमा जता हेर्यो त्यतै घण्टीमय हुनेछ। र त्यस्को सुरुवात डा. लेखजंग थापाबाट हुनेछ ।’ थापा रास्वपाका रूपन्देही ३ का प्रत्यक्ष उम्मेदवार हुन्।

 

लामिछानेले आफू रूपन्देहीमा चुनावी भाषण गर्न र भाेट माग्न नआएकाे बताए । तर उनले भाषणका क्रममा भाेट मागिरहे । भने, ‘यो ठाउँमा मैले हिसाब मिलाउन छ, मेरा कैयौँ पसिनाका धारा यहीँ बगेका छन् । मेरो हिसाबको मलाई चिन्ता छैन, तर देशको हिसाब मिलाउने हो । म आज चुनावी भाषणका लागि आएको होइन, भोट माग्न त भोलि आउँला, अहिले मन माग्न आएको हुँ ।’

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुगेका लामािछानेलाई समर्थकहरूले घेरेका थिए। रास्वपाले रुपन्देहीका निर्वाचन क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, क्षेत्र नं. २ मा सुलभ खरेल, क्षेत्र नं. ३ मा डा. लेखजंग थापा, क्षेत्र नं. ४ मा कन्हैया बनिया र क्षेत्र नं. ५ मा तौफिफ अहमद खानलाई उम्मेदवार बनाएको छ।

आइतबार साँझ रुपन्देही आएका लामिछाने अब कपिलवस्तुमा जाने कार्यक्रम तय भएको जनाइएको छ। लामिछानेले आफ्नो उम्मेदवारी चितवन २ बाट दिएका छन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update