बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
मूल्यांकनमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, विद्यार्थी भर्ना दर, एसईई नतिजा लगायत १७ सूचक समावेश गरिएका छन्।२९ माघ, काठमाडौं । देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।
दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९.७६ अंक पाएको देखिन्छ ।
कुन उपमहानगरपालिकाले कति पाए अंक ?
बुटवल : ६४.४४
तुल्सीपुर : ६१.५३
घोराही : ६१.०८
धनगढी : ५६.६०
नेपालगञ्ज : ५६.४५
हेटौंडा : ५४.१३
जनकपुर : ५१.५८
धरान ४९.७६
कलैया : ४९.५७
जीतपुर सिमरा : ४८.३९
इटहरी : ३८.९६
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।
यसैगरी आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटामात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

