रुपन्देही - रुपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ ले सुशासन कायम राख्ने र भ्रष्टाचार उन्मूलन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उनले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं। जनताको माया र विश्वास पाएका छौं । यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ ।”
हाल उनी सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा रहेका छन् । पाण्डेका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन् । “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे ।
पाण्डेले युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने जेन्जी आन्दोलनको माग अनुसार आफू योग्य रहेको बताए । “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने ।
प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु । अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना छ ।”
पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे ।

