Lumbini Rise
मत चल्छ, दुध चल्दैन

 बुटवल -प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोट माग्न हिँडेका उम्मेदवारले सडक, बिजुली, रोजगारी र विकासको प्रतिबद्धता जाहेर गरे पनि सामाजिक कुरीतिका मुद्दामा भने उनीहरू मौन देखिएका छन् । 

निर्वाचनमा दलित समुदायको भोट चले पनि पशुपालन गरेर उत्पादन भएको दुध चल्न सकेको छैन । गैरदलित शेरसिंह कुँवरको डेरी पसल बन्द भएपछि बजार क्षेत्रमा दलित समुदायले उत्पादन गरेको दुध बिक्री हुँदैन ।

कुँवरले जिल्लामै पहिलो पटक २०६४ सालमा सदरमुकाममा कामधेनु डेरी उद्योग खोलेर दलित समुदायले उत्पादन गरेको दुध किन्न सुरु गर्दा डेरी पसल बन्द भएको थियो ।

गणतन्त्र स्थापनापछि स्थानीय तह पुनर्संरचना हुँदा जिल्लामा अहिले १० वटा स्थानीय सरकारका केन्द्र र बजार विस्तार भएको छ । यद्यपि ती बजारमा दलित समुदायको दुध बिक्री हुँदैन ।

दलित समुदायको दुध किन्दा बन्द भएको डेरी पसल पुनः सञ्चालन गर्न राज्यका कुनै पनि निकायले सहयोग नगरेको कुँवरको गुनासो छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि मत माग्दै नेपाली कम्युनिस्ट पार्टीले अन्तरजातीय विवाह गर्ने जोडीलाई १५ लाख रुपियाँ ऋण दिने आकर्षक नाराले दलित समुदायका युवा उत्साहित छन् यद्यपि सामाजिक परिवेश भने अहिलेसम्म दलित समुदायको दुध नचल्ने अवस्थामा छ ।

सामाजिक कुरीति कायम रहेसम्म सडक पुग्नु मात्रै विकास नभएको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले बताए। 

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका अधिकांश गाउँका किसानले पालिका केन्द्रका बजारमा दुध बेच्न नल्याउँदा यहाँका बजारमा प्रायः कालो चिया र पाउडरको दुध चिया मात्रै पाइने गरेको उनले बताए ।

संविधानले जातीय छुवाछुत र विभेदलाई दण्डनीय माने पनि दुधसँग जोडिएको जातीय विभेद कायमै रहेको दलित अगुवा लक्षीराम लोहारले बताए ।

बैतडीमा यो पटकको निर्वाचनमा एक लाख ५६ हजार मतदाता छन् । तीमध्ये २३ हजारभन्दा बढी दलित समुदायका मतदाता छन् । 

उनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले पशुपालनका क्षेत्रमा काम गर्दै निकायमार्फत जिल्लाका सानाठुला दुग्ध व्यवसायीलाई दलितको दुध किन्न प्रोत्साहन हुने गरी बजेट खर्च नगरेको गुनासो गरे ।

दलित समुदायको मत हरेक निर्वाचनमा निर्णायक बन्दै आए पनि यो समुदायका समस्या उस्तै छन् । प्रतिनिधि सभा निर्वाचनमा यो पटक बैतडीबाट नेकपा एमाले का दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी उम्मेदवार हुनुहुन्छ ।

साना दलबाट जनता समाजवादीका आनसिंह भण्डारी, श्रमसंस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिस्ट पार्टी माओवादी बाट रामबहादुर कुँवर, आमजनता पार्टीबाट विसनसिंह बोहोरा, राप्रपाबाट भूपेनबहादुर चन्द र स्वतन्त्रबाट जयप्रकाश पन्त उम्मेदवार रहनुभएको छ । 

  

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update