बुटवल - नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् । उनले पूराना नेताहरुको नालायी बोकेर भएको निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि त्यसले मुलुकको संकट समाधान गर्न नसक्ने बताए ।
गृहजिल्ला रुपन्देही आएका उनले शनिबार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आवश्यकता नभई बाध्यता रहेको बताए । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनले बताए ।
उनले मुलुकमा केही समयदेखि उकुसमुकुस रहेको उल्लेख गर्दै जेनजीहरुको प्रदर्शनपछि पनि त्यही समस्या बोकेर निर्वाचन हुन लागेकाले मुलुकको संकट समाधान नहुने बताए । नयाँ र पूराना कुनैले पनि जनताको माग सम्बोधन नगर्ने बताउँदै निर्वाचनपछि झन समस्या आउन सक्ने बताए । उनले राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताए ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने उनले बताए। भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको परनिर्भरताको बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन नहुने दावी गरे ।
उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे । उनले ओली, देउवा, प्रचण्ड र माधवकै नालायीका कारण मुलुकको वर्तमान अवस्था सृजना भएको बताए ।
ओली, प्रचण्डले नेतृत्व छाडे, एक हप्तामा एकता
अध्यक्ष भुसालले राजनीतिक पार्टीको नेतृत्वमै समस्या रहेको बताए । उनले नेपाली काँग्रेसमा गगन थापाको नेतृत्वले देउवाको विकल्प खोजेको बताउँदै कम्यूनिष्ट पार्टीहरुमा केपि ओली र प्रचण्डले कुर्ची छाडेको दिन कम्यूनिष्ट एकता हुने बताए । “कं ओली र कं प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट एक हप्तामा एक हुन्छ” भुसालले भने ।
कार्यक्रम नीति, सिद्धान्तका हिसाबले अलग हुनुपर्ने कुनै कारण नरहेको बताउँदै नेतृत्वमा मात्रै समस्या रहेको बताए । प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी ढोकाबाट नभई झ्यालबाट एकता भएको बताए । उनले व्यक्तिगत स्वार्थका कारणले एकता भएको बताए ।
वामपार्टीहरुमा नेतृत्वमा रहेकाहरुले कुर्ची छाडेको दिन एकता हुने र त्यो आवश्यक रहेको समेत भुसालले बताए । उनले राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारी सृजना गर्नेबारेमा सबै एक ठाउँ रहेको बताए ।
पत्रकार सम्मेलनमा नेकपा (संयुक्त) का केन्द्रीय नेता नन्दलाल बन्जाडे, जिल्ला अध्यक्ष हिराध्वज शाह, अविराम विक लगायतको उपस्थिती रहेको थियो ।

