Lumbini Rise
विश्वदीपसंग तिलोत्तमावासीले भने– छाडा चौपाया व्यवस्थापनमा पहल होस्


बुटवल- तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

मतदाताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार रहेका पाण्डे समक्ष विभिन्न अपेक्षा राख्दै छाडा चौपायाका कारण खेप्नु परेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । र, तिलोत्तमा वडा नं – १ मा रहेको गौशाला अन्यत्र सार्न माग गरेका छन् ।

तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला भैरहवामा रहेका छाडा चौपाया समेत गौशालामा ल्याईने र केही दिनमै छाडिने गरेको गुनासो स्थानीयको छ ।घरदैलोको क्रममा आज आईतवार तिलोत्तमाको वडा नं – १ मा पुगेका पाण्डेसंग स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरुको पीडाप्रति कसैले पनि वास्ता नगरेको गुनासो गरे । भण्डारीले अहिलेसम्म आफ्ना समस्या सुन्ने र देख्ने निकाय नभएको भन्दै उम्मेदवार विश्वदीपलाई अभिभावकीय भूमिका खेल्न आग्रह गरे  ।

छाडा चौपायाले स्थानीय कृषकको बालिनालीमा हानी नोक्सानी पुर्याउनुका साथै व्यवसायीलाई समस्या पार्दै आएका छन् ।  त्यतिमात्र होईन, छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्नुकासाथै गाँउशहरमा फोहर समेत बढिरहेको छ ।
मतदाताका मौखिक र लिखित समस्याबारे जानकारी लिएपछि उम्मेदवार पाण्डेले जनताका समस्या पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउँदै सरोकारवाला निकायसंगको समन्वयमा समस्याको अल्पकालिन र दीर्घकालिन योजना बनाएर समाधान गरिने उल्लेख गरे ।

तिलोत्तमाका मतदाताले उम्मेदवार पाण्डेसंग तिनाउ नदीबाट आउने तपाह खोलाको पानीमा केमिकल, प्लाष्टिक र फोहर बगेर आउँदा धेरै कृषक प्रभावित भएको गुनासो समेत गरे । कृषकको स्वास्थ्य सुरक्षाका लागि बुटवल क्षेत्रबाट नै फोहर फाल्न नदिई फोहरको वैज्ञानिक व्यवस्थापन गनुपर्ने उनीहरुको माग छ ।

स्थानीय व्यवसायी भण्डारी सहितले रुपन्देही क्षेत्र नं – २ का उम्मेदवार पाण्डेलाई विभिन्न समस्याबारे १२ बूँदामा लिखित जानकारी गराउँदै तिलोत्तमावासीका साझा माग र मुद्धाप्रति गम्भीर बन्न अनुरोध गरेका थिए । केहीबेर स्थानीयका समस्या सुनेपछि पाण्डेले यस क्षेत्रका समस्या समाधानका लागि जुनसुकै चुनौतीको सामना गरेर भएपनि हल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफू यहीं क्षेत्रमा जन्मेहुर्केको व्यक्ति भएकाले आश्वासन बाँडेर भोट बटुल्न आफू नआएको बताए । विगतमा आफूले संघिय सरकारको नेतृत्व गरेका नेताहरुसंग सहकार्य गर्ने अवसर पाएको र त्यो अनुभवलाई यस क्षेत्रका समस्या समाधान र विकासमा योगदान गर्न चाहेकाले उम्मेदवारी दिएको उनले मतदातासमक्ष बताएका थिए । उनीसंगको भेटमा मतदाताले विगतका उम्मेदवारले जस्तो आश्वासन मात्रै बाँडेर धोका नदिन र विजयीपछि काम विशेषबाहेक गाँउ छाड्ने काम नगर्न आग्रह गरेका थिए ।

मतदातालाई आश्वस्त पार्दै उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न र त्यसको परिणाम निर्वाचनपछि देखिने बताए ।नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको घरदैलो तिलोत्तमाको वडा नं १ को बुद्धटोल, नयाँ चपरहट्टी टोल, शिवचोक, प्यारामाउण्ट टोल, मिलनटोल, प्रगतिटोल, सरस्वती टोलमा गरिएको निर्वाचन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले बताए ।

उनका अनुसार वडा नं ५ को नयाँमिल, डाईभरटोल र वडा नं ४ को शिवपुर लगायतका क्षेत्रमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा मतदातालाई आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न आग्रह गरिएको संयोजक जीसीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update