बुटवल-रुपन्देही क्षेत्र न–ं २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताएका छन ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गरेका छन ।
आफूहरुले शुरु गरेको घरदैलो अभियान आज आईतबार ठीक एक महिना पुगेको उल्लेख गर्दै उनले यसबीचमा करिब २२ हजार घरधुरीका ६० हजारभन्दा बढी मतदातासंग भेटघाट गर्दा देखिएको मतदाताको मनोविज्ञानबाट यस्तो निष्कर्षमा पुगेको जानकारी दिए ।
एक महिनाको बीचमा रुपन्देही क्षेत्र नं– २ र देश तथा विदेशमा रहेका मतदातासंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिने अवसर प्राप्त भएको भन्दै उनले आज रुपन्देही– २ परिवर्तनको गंभीर मोडमा उभिएको उल्लेख गरे । उनले मतदाताले अबका सिमित दिन र घण्टामा यस क्षेत्र लगायत देशकै भविश्यको दिशा तय गर्ने जिकिर गरे ।
‘यदि तपाईंहरुले तारा चुनाव चिन्हमा मत दिनुभयो भने मात्रै वास्तविक परिवर्तन संभव छ’ उम्मेदवार पाण्डेले मतदातालाई लक्षित गर्दै भने– ‘यसपटक परिवर्तन, विकास र स्थिर एवं सक्षम नेतृत्वका लागि तपाईको अमूल्य मत प्रयोग हुनुपर्दछ ।’ उनले आफ्नो लडाई रुपन्देही– २ लाई पछाडी धकेल्ने पुरानो प्रवृतिसंग भएको उल्लेख गरे।
पाण्डेले भौतिक संरचनाको निर्माण वा विस्तार मात्रै विकास नभएको बताए । बुटवल, सैनामैना र तिलोत्तमा आसपास भौतिक संरचना केही हदसम्म विस्तार हुँदा पनि सामाजिक विकास कमजोर रहेको भन्दै उनले आफूले यसलाई बदल्न चाहेको बताए ।
‘रुपन्देही–२ का लागि हामी धेरै काम गर्न सक्नेछौँ । विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, सहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्यहरू गर्न सक्नेछौँ ।’ आफनो चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्दै उनले भने ।
उनले आजको नेपाली राजनीतिमा जोसँग नयाँ सपना र दृष्टिकोणको अभाव छ र जसका हातखुट्टा सत्ता स्वार्थका अनेक जालोले बाँधिएका छन, उनीहरु नै पुरानो शक्ति भएको उल्लेख गरे । वर्षौंवर्षसम्म सत्ताको दोहन गर्नेहरू सँग ठगी र काण्डहरूको बोझबाहेक केही नभएको उनको दाबी छ ।
उम्मेदवार बिश्वदीपले प्रतिनिधिसभालाई देखिने, सुनिने र महसुस हुने जनताको मञ्च बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे । आफूले संसदमा हरेक प्रकारका बहस जनतालाई केन्द्रमा राखेर गर्ने संकल्प लिएको भन्दै उनले आफ्नो पक्षधरता मुठ्ठीभर बिचौलियाको पक्षमा नभई आम मानिसको हितमा हुने ठोकुवा समेत गरे ।
निर्वाचन आयोगले भोली फागुन १८ गते राति १२ बजेदेखि मौन अवधी शुरु हुने भएकाले चुनाव प्रचारप्रसार निषेध गरेको छ ।

