Lumbini Rise
रूपन्देही २ का विषयमा राप्रपाभित्र विवाद, कांग्रेसलाई समर्थन नगरेको स्पष्टोक्ति

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीले रूपन्देही क्षेत्र नम्बर २ मा आफ्नो पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सोमबार सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ती समाचारमा सत्यता नभएको बताएका हुन्।

राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको बताउँदै उनले पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने समेत बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही क्षेत्र नम्बर २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन । राप्रपाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’

भएको के हो?
यसअघि राप्रपाले कार्भिका थापालाई टिकट दिएको थियो । थापाले अमेरकिाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन।

कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिएका थिए। तर आज केन्द्रले नै विज्ञप्ति निकालेर कांग्रेसलाई समर्थन गर्ने हल्लामा सत्यता नभएको बताएको हो।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update