Lumbini Rise
दुई अतिवादी प्रवृत्तिलाई मतदान मार्फत जवाफ दिऔं : नेकपा रुपन्देही

 

बुटवल-  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं रुपन्देही संयोजक नारायण जीसी ‘निर्मल’ले विदेशी शक्ति र राष्ट्रभित्रका दलालबाट मूलुकलाई जोगाउने गरी आसन्न निर्वाचनमा मतदान गर्न आम मतदातासमक्ष आग्रह गरेका छन ।

यस पटकको निर्वाचन निकै जटिल र असहज अवस्थामा हुन लागेको भन्दै उनले अहिले दुइटा अतिवादी प्रवृत्ति भएको र त्यसको जवाफ मतदान मार्फत दिनुपर्ने आवश्यकता औल्याए ।

मतदातालाई निर्धक्क मतदानमा सहभागी हुन आग्रह गर्दै नेता जीसीले नेपाली जनताको हातमा राष्ट्रियता र स्वाधीनता जोगाउने जिम्मेवारी आइपरेको उल्लेख गरे । उनले देशमा जटिल राजनीतिक परिस्थिति भएकाले जनताले यस्तो अवस्थाबारे बुझेर मतदानमा सहभागी हुनुपर्ने आवश्यकतामा जोड दिए ।

रुपन्देहीका सम्पूर्ण मतदातालाई अपिल गर्दै नेता जीसीले भने– ‘भदौ २३ र २४ को घटनापछिको अवस्था र आन्दोलनको माग  निर्वाचन भएकाले अब निर्वाचनमार्फत देशलाई नयाँ तरिकाले अघि जाने बाटो खोल्नुपर्ने ऐतिहासिक दायित्व हामी सबैको काँधमा आएको छ । आगामी संसदले यसको मर्म बुझ्ने गरी काम गर्नका लागि पनि तारा चिन्हमा मतदान गर्न सबै मतदातासंग अपिल गर्दछु ।’

उनले आफ्नो पार्टीले आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएकोले तारा चिन्हमा मतदान गर्न अनुरोध गरे ।


नेता जीसीले स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मात्र देशले असल नेतृत्व प्राप्त गर्ने र त्यसमार्फत जनचाहनाअनुरूप सुशासन, विकास र समृद्धिको यात्रा अघि बढ्न सक्ने विश्वास गरिएकाले यसमा आम मतदाताको गम्भीर ध्यान जानुपर्ने आवशयकतामा जोड दिए ।


आम मतदाता लगायत पार्टी पंक्तिले मौन अवधी, मतदानको दिनभर र मतगणना गरेर मत परिणाम सार्वजनिक नहुँदासम्म निकै चनाखो बन्नुपर्ने उल्लेख गर्दै उनले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नबाट कोही पनि नचुक्न आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update