Lumbini Rise
रुपन्देहीका ५ वटै मतगणना स्थलमा  १० फिट अग्लाे तार जाली जडान

बुटवल - प्रतिनिधि सभा निर्वाचनको मत गणना स्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै मत गणनास्थलमा १० फिट अग्लो तार जाली लगाइएको छ।  रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार सुरक्षा चुनौतिलाई मध्यनजर गरि मतगणनालाई व्यवस्थित गर्न लागिएको हो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवलउपमहानगरपालिकाको वडा नं ११ को कार्यालय देवीनगर, निर्वाचन क्षेत्र नम्बर ३ भैरहवा स्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ।

मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ।

मतगणना परिसरमा सिसी टिभी क्यामरा पनि जडान गरिएको उनले जानकारी दिए। मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरू कसैलाई तार जाली भित्र छिर्न नपाउने उनले बताए। उनका अनुसार उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणनाका क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र मुखमा हालेपछि देश भरी नै मतगणना स्थलमा तार जाली लगाएर व्यवस्थापन गर्न थालिएको हो।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update